सुर्खेत। सुर्खेतको बबई चेकपोष्टबाट बिलभरपाई नभएको १ क्विन्टल ७५ केजी चिनी, ठुलो पटका १०० थान र सानो पटका ८०० थान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता मोहनजङ्ग बुढ्थापाका अनुसार भारततर्फबाट अवैधरूपमा ल्याइएका ती सामग्री बिना कुनै कागजात बरामद गरिएको हो।
उनका अनुसार प्रहरीले बबई चेकपोष्टमा नियमित चेकजाँचका क्रममा उक्त सामग्री फेला पारेको हो। प्रहरीले सामानसहित सवारी चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको छ।
प्रवक्ता बुढ्थापाले तिहार पर्व नजिकिँदै गर्दा बजारमा बढी खपत हुने चिनी र पटका जस्ता वस्तुहरू गैरकानुनी रूपमा भित्र्याउने कार्य बढ्ने भएकाले प्रहरीले निगरानी अझ कडा पारेको जानकारी दिए।
बरामद गरिएका सामान आवश्यक प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको समेत उहाँले बताउनुभयो। उहाँका अनुसार प्रहरीले अवैध ओसारपसार, विस्फोटक तथा आतसबाजीजन्य सामग्रीको अनधिकृत बिक्री–वितरण नियन्त्रणमा विशेष अभियान सञ्चालन गरिरहेको छ।







