लोक वहादुर बि.क.
सि.एम.सी.नेपाल
मानव जीवनको समग्र विकासका लागि शारीरिक स्वास्थ्य जत्तिकै मानसिक स्वास्थ्य पनि अत्यन्त महत्वपूर्ण हुन्छ। मानसिक स्वास्थ्य भनेको केवल रोग नभएको अवस्था मात्र होइन, बरु व्यक्ति आफ्नो क्षमता बुझ्न, तनाव व्यवस्थापन गर्न, उत्पादनशील रूपमा काम गर्न र समाजमा सकारात्मक योगदान दिन सक्षम हुने मनोवैज्ञानिक अवस्था हो। विश्व स्वास्थ्य संगठन ले मानसिक स्वास्थ्यलाई व्यक्तिको भावनात्मक, मनोवैज्ञानिक र सामाजिक सन्तुलनको अवस्था भनेर परिभाषित गरेको छ।
१. मानसिक स्वास्थ्यको अवधारणा
मानसिक स्वास्थ्य व्यक्ति, परिवार र समाजको जीवनगुणस्तरसँग प्रत्यक्ष सम्बन्धित हुन्छ। यसले व्यक्ति कसरी सोच्दछ, महसुस गर्दछ, निर्णय लिन्छ, सम्बन्ध बनाउँछ र व्यवहार गर्दछ भन्ने कुरा निर्धारण गर्छ।
मानसिक स्वास्थ्यलाई सामान्यतया तीन पक्षबाट बुझ्न सकिन्छः
भावनात्मक पक्ष: आत्मनियन्त्रण, सहानुभूति, आत्मसम्मान।
संज्ञानात्मक पक्ष: सोच्ने, निर्णय गर्ने, र समस्या समाधान गर्ने क्षमता।
व्यवहारिक पक्ष: वातावरणसँगको व्यवहारिक समायोजन र सामाजिक अनुकूलता।
२.वर्तमान सन्दर्भमा मानसिक स्वास्थ्यको अवस्था
२१औं शताब्दीको प्रविधि, प्रतिस्पर्धा र एक्लोपनाले मानिसको मनोवैज्ञानिक जीवनमा नयाँ चुनौतीहरू थपेका छन्। नेपालजस्तो विकासोन्मुख देशमा आर्थिक असमानता, बेरोजगारी, पारिवारिक तनाव र सामाजिक कलङ्कले मानसिक स्वास्थ्य समस्यालाई अझ जटिल बनाएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार, नेपालमा जनसंख्याको करिब १५–२० प्रतिशत मानिसले कुनै न कुनै प्रकारको मानसिक समस्या भोगिरहेका छन्, जसमा विशेषगरी युवा र किशोरकिशोरीहरू बढी प्रभावित छन्।
३. मानसिक स्वास्थ्यमा प्रभाव पार्ने प्रमुख कारणहरू
आर्थिक र सामाजिक असमानता, गरिबी, रोजगारीको अभाव र सामाजिक भेदभावले दीर्घकालीन तनाव उत्पन्न गर्छ।
पारिवारिक सम्बन्ध र बाल्यकालीन अनुभव, अभिभावकबीचको झगडा, घरेलु हिंसा वा उपेक्षाले बालबालिकामा गहिरो मानसिक असर पार्छ।
शैक्षिक दबाब र प्रतिस्पर्धा, विद्यार्थीहरूमा बढ्दो अपेक्षा र असफलताको डरले चिन्ता र आत्मसम्मानमा असर गर्छ।
सामाजिक सञ्जाल र प्रविधिको दुरुपयोगस् अत्यधिक डिजिटल संलग्नताले तुलना, असन्तुष्टि र एक्लोपन बढाउँछ।
४. मानसिक स्वास्थ्यप्रति सामाजिक दृष्टिकोण
हाम्रो समाजमा मानसिक स्वास्थ्यबारे अझै धेरै गलत धारणाहरू प्रचलित छन्।
जस्तैः
मानसिक समस्या भएका व्यक्तिलाई “पागल” वा “कमजोर” भन्ने।
“एक पटक लागेपछि सन्चो हुँदैन” भन्ने भ्रम।
उपचार गर्नुभन्दा पुजा गर्ने वा घरबाट निकालिदिने सोच।
यस्ता नकारात्मक सोच र कलङ्कका कारण धेरै मानिस उपचारबाट टाढा रहन्छन्।
५. मानसिक स्वास्थ्य समस्याका सामान्य लक्षणहरू
निरन्तर तनाव, चिन्ता वा डर
आत्मबलमा कमी र निराशा
एक्लै बस्ने बानी
निद्रा वा भोकमा समस्या
आत्महत्या वा आत्मघाती विचार
कार्यक्षमतामा ह्रास
असामान्य व्यवहार (सामान्य मानिसले नदेखेकोरनसुनेको कुरा देख्ने वा सुन्ने अनुभव)
शारीरिक लक्षणहरू — टाउको दुख्ने, ढाड दुख्ने, पेट खराब हुने, मांशपेशी कडा हुने, छाती भारी हुने, घाँटीमा केही अड्किएको जस्तो महसुस हुने आदि।
६. मानसिक रूपमा स्वस्थ रहने उपायहरू
क) व्यक्तिगत स्तरमा
ध्यान, योग र माइन्डफुलनेस अभ्यास गर्ने।
स्वस्थ आहार र पर्याप्त निद्रा लिने।
विश्वासिलो व्यक्तिसँग आफ्ना भावना व्यक्त गर्ने।
नियमित शारीरिक व्यायाम गर्ने।
आवश्यक परेमा मनोपरामर्श सेवा लिने।
ख) सामाजिक स्तरमा
विद्यालयमा मनोशिक्षा कार्यक्रम सञ्चालन गर्ने।
सामुदायिक समर्थन समूह स्थापना गर्ने।
मानसिक स्वास्थ्यबारे जनचेतना अभियान सञ्चालन गर्ने।
ग) नीतिगत स्तरमा
आपतकालीन प्रतिकार्य योजनामा मानसिक स्वास्थ्य र मनो–सामाजिक सहयोग समावेश गर्ने।
प्रमाणमा आधारित मानसिक स्वास्थ्य सेवा (थेरापी, औषधि, परामर्श) मा पहुँच सुनिश्चित गर्ने।
बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र शरणार्थीलाई यी सेवामा समावेश गर्ने।
गाउँ तहसम्म मानसिक स्वास्थ्य सेवा विस्तार गर्ने।
विद्यालय र कार्यस्थलमा मनोपरामर्श केन्द्र स्थापना गर्ने।
मानसिक स्वास्थ्य बीमा सुविधा लागू गर्ने।
तालिमप्राप्त मनोपरामर्शदाता र मनोचिकित्सकको अभाव न्यूनिकरण गर्ने।
७. विश्व मानसिक स्वास्थ्य दिवसको सन्देश
अक्टोबर १० का दिन हरेक वर्ष विश्व मानसिक स्वास्थ्य दिवस मनाइन्छ। यस वर्ष नेपालमा पनि “विपदको समयमा मानसिक स्वास्थ्य” भन्ने नारासहित यो दिवस मनाइएको छ। कालीकोटमा सी.एम.सी. नेपाल र जिल्ला अस्पतालको संयोजनमा विविध सचेतनामूलक कार्यक्रम आयोजना गरियो।
यस दिवसले हामीलाई सम्झाउँछ —
विपदको समयमा मानसिक स्वास्थ्यको हेरचाह उद्धार र राहतजत्तिकै महत्वपूर्ण हुन्छ।
यस्तो अवस्थामा डर र तनावबीच पनि एक–अर्काको मानसिक अवस्था बुझ्ने र सहयोग गर्ने जिम्मेवारी सबैको हो।
नेपाल सरकार तथा स्वास्थ्य मन्त्रालयले आम जनमानसमा निम्न सन्देशहरू प्रवाह गरेको छः
मानविय संकट र स्वास्थ्य आपतकालीन अवस्थाले सबैमा मानसिक तनाव ल्याउन सक्छस त्यसको सामना गर्न उपाय खोज्नु आवश्यक छ।
तपाईं एक्ला हुनुहुन्न — सहयोग लिनुहोस्, कुरा गर्नुहोस्।
द्वन्द्व, विपद र आपतकालले शारीरिक मात्र होइन, मानसिक स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
विश्वमा प्रत्येक ७ जनामध्ये १ जना ले कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या अनुभव गर्छन्।
८. निष्कर्ष
मानसिक स्वास्थ्य केवल व्यक्तिगत विषय होइनस यो राष्ट्रिय उत्पादनशीलता, सामाजिक समावेशिता र मानव अधिकार सँग गहिरो सम्बन्ध राख्छ।
स्वस्थ मानसिक अवस्था बिना समृद्ध समाज सम्भव छैन। त्यसैले, प्रत्येक व्यक्ति, संस्था र राज्यले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्न आवश्यक छ।
“शरीरको उपचार अस्पतालमा हुन्छ, तर मनको उपचार अस्पताल र समाजको सहयोगले मात्र सम्भव हुन्छ।”
लोक वहादुर बि.क.
सि.एम.सी. नेपाल
विद्यालय मानसिक स्वास्थ्य सुपरभाइजर, कालीकोट







