सुर्खेत । सुर्खेत जिल्ला प्रहरी कार्यालयले लागुऔषध नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको छ। बिहीबार साँझ करिब ४:३० बजे प्रहरी टोलीले जिल्ला सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ स्थित लागुऔषधको कारोवार भइरहेको भन्ने विशेष सूचनाका आधारमा गरेको कारबाहीमा पाँच जना व्यक्तिलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ परेका मध्ये एकजना कैदीसमेत रहेका छन्, जो हाल जेलबाट फरार रहेका थिए। प्रहरी टोलीले उनीहरूको साथबाट ४ लाख ३० हजार बराबरको ४३० मिलिग्राम ब्राउनसुगर बरामद गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी तथा प्रवक्ता प्रेम बुढाथोकीका अनुसार, लागुऔषध नियन्त्रक शाखा सुर्खेतको टोलीले वीरेन्द्रनगर–७ बाट टोलवासीका सहयोगमा पक्राउ गरेका ती व्यक्तिहरूविरुद्ध मुद्दा दर्ता गरिने तयारी भइरहेको छ।
पक्राउ परेका मध्ये प्रमुख आरोपी सोम ९परिवर्तित नाम०, सुर्खेत वीरेन्द्रनगर–७ का बासिन्दा हुन्। उनीसँगै अन्य चार जना पक्राउ परेका छन्।
प्रहरीले घटनास्थलबाट लागुऔषधसहित प्रयोगमा ल्याइएको मोटरसाइकल र अन्य सामग्रीसमेत बरामद गरेको छ। अहिले पाँचै जनामाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरी नायव उपरीक्षक मोहनजंग बुढाथोकीले भने, “लागुऔषध नियन्त्रण अभियानलाई प्रहरीले निरन्तरता दिएको छ। यस प्रकारका अपराध नियन्त्रणका लागि समुदायको सूचना सहयोग अत्यावश्यक छ।”
प्रहरीले पक्राउ परेकामाथि लागुऔषध ऐनअन्तर्गत मुद्दा दर्ता गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताएको छ।







