रतन बहादुर रावल,
मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–८ चुगा गाउँका दलित बालबालिकालाई समाजसेवी धोर्चे कार्मारोङ र उनकी धर्मपत्नी पेमा लामु कार्मारोङले शैक्षिक तथा सरसफाइ सामग्री वितरण गरेका छन्।
हिमाली जिल्ला मुगुको दुर्गम बस्ती चुगास्थित श्री मालिका आधारभूत विद्यालयमा अध्ययनरत नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीहरूलाई करिब १० हजार रुपैयाँ बराबरका सामग्री वितरण गरिएको हो।
वितरण गरिएको सामग्रीमा कापी, सिसाकलम, डटपेन, इलिजर, कटरलगायतका स्टेशनरी सामानहरू र ब्रस, मञ्जन, हात धुने तथा कपडा धुने साबुनजस्ता सरसफाइ सामग्री समावेश छन्।
सदरमुकाम गमगढीबाट टाढा रहेको यो दलित बस्तीका अभिभावकहरूका अनुसार, एक थान कापी किन्न मात्र पनि सदरमुकाम पुग्नुपर्ने बाध्यता छ, जसका लागि कम्तीमा ५०० रुपैयाँ भाडा खर्च हुने अवस्था छ।
केही समयअघि सामाजिक सञ्जालमा सो विद्यालयसम्बन्धी सूचना देखेर प्रेरित भएका कार्मारोङ दम्पतीले आफ्नै पहलमा उक्त बस्तीमा पुगेर सामग्री वितरण गरेका हुन्।
संगीतकर्मी तथा चित्रकारसमेत रहेका धोर्चे कार्मारोङ विगत केही वर्षदेखि राजधानीमा बसोबास गर्दै आएका छन्। उनले मुगु जिल्लाको सांस्कृतिक परिचय देशभर पुर्याउन उल्लेखनीय योगदान पुर्याएका छन्।
शैक्षिक सामग्री वितरण कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकहरूको उत्साहपूर्ण सहभागिता रहेको विद्यालयका शिक्षक रामबहादुर विकले बताए। उनका अनुसार, “आज विद्यार्थीहरूको हातमा कापी र कलम देख्दा हामी निकै हर्षित छौं। यसअघि अक्कलको फिला फाउन्डेसनका संस्थापक अक्कल बोहराले पनि केही सामग्री वितरण गर्नुभएको थियो, तर आज फेरि कार्मारोङ दम्पतीले निरन्तर सहयोगको भावना देखाउनुभएकोमा हामी निकै आभारी छौं।”
त्यस्तै वडा सदस्य सञ्चौरा कामीले खुशी व्यक्त गर्दै भनिन् — “साँचिकै हाम्रा भगवान बनेर आउनुभयो। यी सामग्रीले हाम्रा बालबालिकालाई करिब ६ महिनासम्म पुग्नेछ।”
अभिभावकहरूका अनुसार, समाजसेवी कार्मारोङले “शिक्षा र सरसफाइ नै विकासको मूल आधार हो” भन्ने सन्देशका साथ गाउँमा सकारात्मक ऊर्जा जगाएका छन्।







