सुर्खेत । सन् २०२६ मा इंग्ल्याण्ड र वेल्समा आयोजना हुने महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट प्रतियोगिता नेपालमा हुने पक्का भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (ICC) ले बिहीबार नेपाललाई ग्लोबल छनोटको आयोजक राष्ट्रका रूपमा घोषणा गरेको हो। ग्लोबल छनोट प्रतियोगिता २०८३ माघ २८ देखि फागुन १९ गतेसम्म (January 12, February 2, 2026) नेपालमा सम्पन्न हुने तय गरिएको छ।
यो ऐतिहासिक आयोजनामा १० राष्ट्र सहभागी हुनेछन्, जसलाई दुई समूहमा बाँडिनेछ। समूह चरणपछि हरेक समूहका शीर्ष ३ टोली ‘सुपर सिक्स’ चरणमा पुग्नेछन्। त्यसपछिको अन्तिम चरणमा उत्कृष्ट ४ टोलीले महिला विश्वकप २०२६ का लागि स्थान सुरक्षित गर्नेछन्। प्रतियोगिताको विस्तृत खेल तालिका भने ICC ले हालसम्म सार्वजनिक गरेको छैन।
नेपालले हालै सम्पन्न एसियाली छनोटमा उपविजेता बनेर पहिलोपटक ग्लोबल छनोटमा स्थान बनाएको हो। थाइल्याण्डले उपाधि जितेर र नेपालले दोस्रो स्थान हासिल गरेर एसियाली क्षेत्रबाट छनोट भएका हुन्। त्यस्तै, अमेरिका क्षेत्रीय छनोटबाट अमेरिकी टोलीले स्थान सुरक्षित गरिसकेको छ।
यसअघि सन् २०२४ को टी–२० विश्वकप खेलिसकेका बंगलादेश र आयरल्याण्डले स्वतः ग्लोबल छनोटमा स्थान पाएका छन्। अफ्रिका र युरोपबाट दुई(दुई तथा पूर्वी एसिया–प्रशान्त क्षेत्रबाट एक टोली छनोट प्रक्रियामा रहेका छन्। महिला टी–२० विश्वकप क्रिकेट सन् २०२६ को जुन १२ देखि जुलाई ५ सम्म इंग्ल्याण्ड र वेल्समा संयुक्त रूपमा आयोजना हुनेछ।
नेपालले पहिलोपटक यति ठूला स्तरको अन्तर्राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आयोजना गर्दैछ, जसले नेपाली महिला क्रिकेटको विकासमा मात्र होइन, विश्व क्रिकेटमा नेपालको हैसियत बलियो बनाउने ऐतिहासिक अवसर पनि हुनेछ।