सुर्खेत । अविरल वर्षाका कारण आएको बाढीमा परी रुकुम पश्चिममा तीन जना बालिकाको मृत्यु भएको छ ।
गए राति अविरल वर्षाका कारण जिल्लाको आठविसकोट नगरपालिका( १२ स्थित तातोपानी खोला र झिन्चौर खोलामा आएको बाढीले घर भत्काउदा तीन जना बालिकाको मुत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।
त्यस्तै ६ जना घाइते भएको आठविसकोट नगरपालिकाका नगर प्रमुख रवि केसीले जानकारी दिए । केसीका अनुसार घाइतेहरूको उपचार भइरहेको छ भने मृतकहरूको शव निकाल्ने प्रयास जारी छ । गए राति साढे ११ बजेको समयमा उक्त घटना घटेको केसीले जानकारी दिए ।
मृत्यु हुनेहरूमा ८ वर्षीया हितमाया पुन, ५ वर्षीया धनिसा पुन र ४ वर्षीया मनिषा सार्की रहेका छन् । त्यस्तै, बेपत्ता हुनेमा ४० वर्षीय डिल्ली बुढाथोकी रहेका छन् ।
घाइते हुनेहरूमा १० वर्षीय विजय सार्की, २२ वर्षीया अनिसा पुन, २९ वर्षीय जनक खत्री, ६५ वर्षीया मनसरी पुन, ४ वर्षीय मेक्सन पुन, २० वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पना कामी रहेको नगर प्रमुख केसीले जानकारी दिए ।