कालिकोट । लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेको कालिकोटको खाँडाचक्र नगरपालिका–३ ताडीस्थित बसपार्क स्थानीय बासिन्दाको सक्रियतामा फेरि सञ्चालनको तयारीमा जुटेको छ। फोहोर र मलबाले भरिएको बसपार्क भवनलाई स्थानीय युवाहरूले श्रमदानमार्फत सरसफाइ गर्दै पुनः प्रयोगमा ल्याउने अभियान सुरु गरेका हुन्।
बसपार्कमा लामो समयदेखि थुप्रिएको फोहोर, मलबा तथा दुर्गन्ध हटाउँदै भवन र आसपासको क्षेत्र सफा गर्ने काम भइरहेको छ। स्थानीय बासिन्दा, युवालगायत समाजसेवीहरू आफैं श्रमदानमा जुटेपछि लामो समयदेखि बेवारिसे जस्तै बनेको बसपार्कले नयाँ स्वरूप पाउने आशा जागेको छ।
अभियानमा स्थानीय समाजसेवी प्रदिप पाण्डेसहित स्थानीय बासिन्दाहरू सक्रिय रूपमा सहभागी भएका छन्। उनीहरूले सरकारी निकायको मात्र भर नपरी आफ्नो गाउँको विकास र सरसफाइमा स्थानीय आफैं जिम्मेवार बन्नुपर्ने सन्देश दिएका छन्।
पाण्डेले गाउँको परिवर्तन कुनै एक व्यक्ति वा राजनीतिक दलको प्रयासले मात्र सम्भव नहुने बताए। उनले सबै क्षेत्रका नागरिक एकजुट भएर काम गर्नुपर्नेमा जोड दिए।
“हाम्रो गाउँ केही राजनीतिक विशेषले परिवर्तन हुने होइन, तपाईं–हामी मिलेर परिवर्तन गरौँ। ‘म बाहेक अरू कोही छैन’ भन्ने सोच होइन, सबै मिलेर अगाडि बढौँ। पत्रकार, कर्मचारी, समाजसेवीलगायत सबैमा मेरो आग्रह छ—प्रचार होइन परिणाम, भाषण होइन समाधान चाहिन्छ।”
स्थानीयको पहलमा बसपार्क पुनःनिर्माण तथा सरसफाइ भएपछि ताडी क्षेत्रका यात्रुलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ। बसपार्क व्यवस्थित हुँदा सार्वजनिक यातायात सञ्चालनमा सहजता आउने, यात्रु तथा स्थानीय व्यवसायीलाई समेत प्रत्यक्ष लाभ पुग्ने स्थानीयको भनाइ छ।
स्थानीयका अनुसार लामो समयसम्म मर्मतसम्भारको अभावमा बसपार्क प्रयोगविहीन बनेको थियो। भवन तथा आसपासको क्षेत्र फोहोरले भरिएपछि यात्रु तथा स्थानीयले समेत असहजता भोग्दै आएका थिए।






