समावेशी विकाससँगै सुशासन र संस्कृतिको संरक्षणमा सरकार प्रतिबद्ध : मन्त्री खड्का

  ।   १२ आश्विन २०८३, सोमबार २०:३२

रुकुम पश्चिम । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कल्याणी खड्काले समावेशी विकास, सुशासन, सामाजिक न्याय र मौलिक संस्कृतिको संरक्षणलाई प्राथमिकतामा राखेर प्रदेश सरकार अघि बढिरहेको बताएकी छन्।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ मा आयोजित ऐराके पूर्णिमा मेलाको अवसरमा सञ्चालन गरिएको खेलकुद तथा सांस्कृतिक प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री खड्काले विगतमा दलित, महिला तथा पछाडि पारिएका समुदायलाई नेतृत्व र निर्णय प्रक्रियाबाट वञ्चित गरिए पनि अहिले उनीहरू राज्यका विभिन्न तहमा नेतृत्वदायी भूमिकामा स्थापित हुँदै गएको बताइन्।

उनले पछाडि पारिएका वर्ग तथा समुदायको अधिकार र प्रतिनिधित्वका लागि भएका निरन्तर अभियानले सकारात्मक परिणाम दिएको उल्लेख गर्दै समावेशी समाज निर्माणमा सबैको भूमिका आवश्यक रहेको बताइन्।

मन्त्री खड्काले कर्णालीमा विकासका चुनौतीसँगै प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै सुशासन, विकास र सामाजिक न्यायलाई सँगसँगै अघि बढाउन सरकार र समुदायबीच सहकार्य आवश्यक रहेको बताइन्। स्थानीय तहदेखि प्रदेश सरकारसम्मको समन्वयबाट विकासका सम्भावनालाई व्यवहारमा उतार्नुपर्ने उनको भनाइ थियो।

युवा राष्ट्र निर्माणका महत्वपूर्ण शक्ति भएको उल्लेख गर्दै मन्त्री खड्काले युवालाई अनुशासित, सचेत र नैतिक रूपमा जिम्मेवार बन्न आग्रह गरिन्। खेलकुदले युवामा अनुशासन, प्रतिस्पर्धाको भावना र नेतृत्व क्षमता विकास गर्ने भन्दै उनले प्रतियोगितामा सहभागी सबै खेलाडीलाई हार–जितलाई स्वाभाविक रूपमा स्वीकार गर्दै निरन्तर अघि बढ्न प्रेरित गरिन्।

उनले राष्ट्र र समाजका लागि युवाको सक्रिय भूमिका आवश्यक रहेको बताउँदै सुशासन, सामाजिक रूपान्तरण, मौलिक संस्कृति संरक्षण तथा सामाजिक विकृति न्यूनीकरणमा युवाहरू अग्रसर हुनुपर्ने धारणा राखिन्।

महिलाको सहभागिताबारे बोल्दै मन्त्री खड्काले महिलालाई चुलो–चौकोमा सीमित राख्ने पुरानो सोच परिवर्तन हुँदै गएको बताइन्। महिलाहरू अहिले सामाजिक अभियानदेखि राज्यका निर्णय गर्ने तहसम्म सक्रिय रूपमा सहभागी हुन थालेको उल्लेख गर्दै महिलाको नेतृत्व र सहभागितालाई अझ विस्तार गर्नुपर्नेमा जोड दिइन्।

“महिला अब चुलो–चौकोमा मात्र सीमित रहने होइनन्, निर्णय गर्ने तहमा पुगेर समाज परिवर्तनको नेतृत्व गर्नुपर्छ,” भन्ने आशय व्यक्त गर्दै उनले महिलाको सहभागिता र नेतृत्वलाई सामाजिक विकासको महत्वपूर्ण आधारका रूपमा लिनुपर्ने बताइन्।

त्यस्तै, स्थानीय उत्पादन र आधुनिक कृषि प्रणालीलाई प्राथमिकता दिनुपर्ने मन्त्री खड्काको भनाइ थियो। उन्नत बीउबिजन तथा वैज्ञानिक खेती प्रणालीमार्फत उत्पादन वृद्धि गर्दै नागरिकको आर्थिक अवस्था सुधार र पोषणयुक्त आहारको पहुँच सुनिश्चित गर्नुपर्ने उनले बताइन्। यसका लागि स्थानीय सरकार, प्रदेश सरकार र समुदायबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

मन्त्री खड्काले कर्णालीको मौलिक लोकसंस्कृति, परम्परा, चाडपर्व तथा स्थानीय पहिचानको संरक्षणमा पनि विशेष ध्यान दिनुपर्ने बताइन्। ऐराके पूर्णिमा जस्ता मेला तथा सांस्कृतिक कार्यक्रमले स्थानीय कला, संस्कृति र परम्परालाई पुस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उनले लोकसंस्कृतिको संरक्षण र प्रवद्र्धनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताइन्।

कार्यक्रममा विद्यालयका पूर्वाधार, खेलमैदान तथा सुरक्षालगायतका विषयमा स्थानीयबाट उठाइएका सवालप्रति पनि उनले ध्यानाकर्षण भएको बताइन्। विद्यालयलाई ज्ञान, नैतिक शिक्षा र सक्षम नेतृत्व उत्पादन गर्ने महत्वपूर्ण थलोका रूपमा व्याख्या गर्दै विद्यालयसँग सम्बन्धित समस्याको समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरिन्।

“यो समुदाय हामीले बनाउने हो, हामीले नबनाए कसले बनाउँछरु” भन्ने धारणा राख्दै मन्त्री खड्काले स्थानीय विकासमा समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताइन्। सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका लागि आफू प्रतिबद्ध रहेको उनको भनाइ थियो।

समापन समारोहमा आफूलाई छोरी–चेलीका रूपमा सम्मानपूर्वक स्वागत गर्दै मन्तव्य राख्ने अवसर दिएकोमा आयोजक टोली तथा चौरजहारी नगरपालिका–८ का वडा अध्यक्षप्रति मन्त्री खड्काले धन्यवाद व्यक्त गरिन्। राज्यको निर्णय गर्ने तहमा महिलाको उपस्थिति बढ्दै जानु सामाजिक परिवर्तनको महत्वपूर्ण उपलब्धि भएको उनले बताइन्।

ऐराके पूर्णिमा मेलाको अवसरमा आयोजित खेलकुद तथा सांस्कृतिक प्रतियोगितामा विभिन्न खेल तथा सांस्कृतिक विधामा प्रतिस्पर्धा गराइएको थियो। प्रतियोगितामा सहभागी खेलाडी तथा कलाकारहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।