कर्णालीमा विकासका लागि कार्यालयमा बजेट अभाव होइन, कार्यान्वयनको समस्या : मन्त्री खड्का

  ।   १३ आश्विन २०८३, मंगलवार २१:२५

जाजरकोट । कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री तथा सरकार प्रवक्ता कल्याणी खड्काले कर्णालीमा विकासका लागि बजेटको अभाव नभएर विनियोजित बजेट तथा योजनाको प्रभावकारी कार्यान्वयनमा समस्या रहेको बताएकी छन्।

प्रदेश सरकारले ल्याएका योजना र विनियोजन गरेको बजेट समयमै तथा प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक विधि, संयन्त्र र समन्वयको अवस्था बुझ्न आफू जिल्ला भ्रमणमा निस्किएको मन्त्री खड्काले बताइन्।

मंगलबार जाजरकोट सदरमुकाम खलंगास्थित नेपाली कम्युनिष्ट पार्टीको जिल्ला कार्यालयमा आयोजित स्वागत कार्यक्रममा बोल्दै मन्त्री खड्काले प्रदेश सरकारका सामु अहिले मुख्यतः दुईवटा जिम्मेवारी रहेको बताइन्। उनका अनुसार अघिल्लो प्रदेश सरकारले ल्याएका बजेट तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु पहिलो प्राथमिकता हो भने प्रदेश सरकारले नयाँ तर्जुमा गरेका योजना तथा विनियोजित बजेटलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रभावकारी विधि र संयन्त्र निर्माण गर्नु दोस्रो महत्वपूर्ण जिम्मेवारी हो।

मन्त्री खड्काले प्रदेश सरकारको काम गर्ने शैलीमा विगतभन्दा केही फरकपन देखिने गरी अघि बढ्नुपर्ने बताइन्। जनताको आवश्यकता, स्थानीयस्तरबाट उठेका माग र सडकको आवाजलाई समेत प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको उनको भनाइ छ।

‘पहिलेको भन्दा अहिलेको सरकारले केही फरकपन दिनुपर्छ भन्ने हाम्रो मान्यता हो,’ उनले भनिन्, ‘जनताका वास्तविक आवश्यकता र मागलाई सम्बोधन गर्दै उपलब्ध स्रोत र बजेटको प्रभावकारी उपयोगमा सरकार केन्द्रित छ।’

मन्त्री खड्का मन्त्रालयको नियमित अनुगमन तथा भ्रमणका क्रममा सोमबार जाजरकोट सदरमुकाम खलंगा पुगेकी हुन्। भ्रमणका क्रममा उनले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतका कार्यालयहरूको अवस्था, योजना कार्यान्वयनको प्रगति, देखिएका समस्या तथा आगामी दिनमा गर्नुपर्ने कामबारे सम्बन्धित अधिकारी र सरोकारवालासँग छलफल गरेकी छन्।

मन्त्री खड्काले जिल्लास्तरमा रहेका कार्यालयहरूले योजना कार्यान्वयनका क्रममा भोगिरहेका समस्या माथिल्लो तहसम्म पुर्‍याउन र समाधानका लागि आवश्यक पहल गर्न पनि आग्रह गरेकी छन्। संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय हुन सके विकास निर्माणका कामलाई थप गति दिन सकिने उनको भनाइ छ।

यसैबीच, मन्त्री खड्कालाई मंगलबार नेपाली कम्युनिष्ट पार्टी जाजरकोटले जिल्ला पार्टी कार्यालयमा माला तथा खादा लगाएर स्वागत गरेको छ। स्वागत कार्यक्रममा जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य कृष्ण बिसी, केन्द्रीय सदस्य तथा जिल्ला सह–संयोजक दीपबहादुर थापा, केन्द्रीय सदस्य डम्बरबहादुर सिंहलगायत नेता तथा कार्यकर्ताको सहभागिता थियो।

सोमबार नै मन्त्री खड्कालाई नेपाली कम्युनिष्ट पार्टी निकट एकीकृत कर्मचारी संगठनले समेत स्वागत गरेको  हो ।

Next Post

कर्णाली प्रदेश मन्त्रालयका मन्त्रीसँग कार्यसम्पादन सम्झौता

१३ आश्विन २०८३, मंगलवार २१:२५
सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर शाहीले कर्णालीका सबै मन्त्रालयका मन्त्रीसँग कार्यसम्पादन सम्झौता गरेका छन्। सरकारका नीति, योजना तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै नतिजामुखी कामलाई प्राथमिकता दिने उद्देश्यले सम्झौता गरिएको हो। मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर सुर्खेतमा मुख्यमन्त्री शाही र मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता भएको हो। साथै प्रमुख […]