सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर शाहीले कर्णालीका सबै मन्त्रालयका मन्त्रीसँग कार्यसम्पादन सम्झौता गरेका छन्। सरकारका नीति, योजना तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै नतिजामुखी कामलाई प्राथमिकता दिने उद्देश्यले सम्झौता गरिएको हो।
मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर सुर्खेतमा मुख्यमन्त्री शाही र मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता भएको हो। साथै प्रमुख सचिव र प्रदेश सचिवहरूबीच पनि कार्यसम्पादन सम्झौता गरिएको छ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री तथा सरकारका प्रवक्ता माननीय कल्याणी खड्काका अनुसार कार्यसम्पादन सम्झौता भनेको सरकारका नीति तथा कार्यक्रमलाई कागजमा सीमित नराखी तोकिएको जिम्मेवारी, लक्ष्य र समयसीमाभित्र परिणाम निकाल्ने प्रतिबद्धता हो। उहाँका अनुसार यसले मन्त्रालयको काममा स्पष्टता, जिम्मेवारी र जवाफदेहिता बढाउँदै सरकारको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्नेछ।
सरकारको कार्यसम्पादन सम्झौतामार्फत प्रत्येक मन्त्रालयले आफ्नो जिम्मेवारीअनुसार कामको प्रगति देखाउनुपर्ने र त्यसको नियमित समीक्षा हुने बताउनुभयो।







