भौगोलिक जोखिम न्यूनीकरण र सुशासनमा जोड : मन्त्रि खड्का

  ।   १३ आश्विन २०८३, मंगलवार २२:४०

जाजरकोट । कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री एवं सरकारका प्रवक्ता कल्याणी खड्काले जाजरकोटको भौगोलिक अवस्थालाई ध्यानमा राख्दै विपद् जोखिम न्यूनीकरण र पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ।

मंगलबार जिल्ला प्रशासन कार्यालय जाजरकोटमा प्रमुख जिल्ला अधिकारी नवराज बरालसहित जिल्लास्थित कार्यालय प्रमुख तथा प्रतिनिधिहरूसँग संयुक्त बैठक गर्दै मन्त्री खड्काले जिल्लाको भौगोलिक अवस्था, विकास, सेवा प्रवाह तथा समसामयिक समस्याबारे जानकारी लिनुभएको हो।

अनुगमनका क्रममा मन्त्री खड्काले जाजरकोट भूकम्पलगायत प्राकृतिक विपद्को उच्च जोखिममा रहेको उल्लेख गर्दै भौगोलिक अवस्थाको अध्ययन तथा अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। विपद् जुनसुकै बेला आउन सक्ने भएकाले तीनै तहका सरकारबीच समन्वय, सहकार्य र पूर्वतयारी आवश्यक रहेको उहाँको भनाइ छ ।

उहाँले सुशासन, भ्रष्टाचार नियन्त्रण र नागरिकमैत्री सेवा प्रवाह सरकारको प्राथमिकता रहेको बताउँदै पुरानो सरकारले ल्याएको बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै आवश्यकताका आधारमा योजना तथा बजेट परिचालन गर्न सरकार लागिपरेको जानकारी दिनुभयो। हालसम्म प्रदेशको बजेट कार्यान्वयन ६१ प्रतिशतभन्दा माथि पुग्न नसकेको बताउँदै विपद्का कारण जाजरकोटमा कतिपय योजनाको बजेट संशोधन गरी आवश्यकता र प्राथमिकताअनुसार अघि बढाउनुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो।

मन्त्री खड्काले जिल्लाका प्रशासनिक समस्या, राजनीतिक हस्तक्षेप तथा विकास निर्माणका चुनौती पहिचान गरी समाधानका लागि राजनीतिक दल, कर्मचारी र तीनै तहका सरकारका प्रतिनिधिबीच समन्वय आवश्यक रहेको बताउनुभयो। आवश्यक परे विद्यमान कानुन तथा कार्यविधिमा समेत संशोधनका लागि प्रदेश सरकारबाट पहल गरिने उहाँको भनाइ छ।

जाजरकोटमा बढ्दो लागूऔषध दुर्व्यसन तथा विभिन्न सामाजिक विकृतिप्रति समेत मन्त्री खड्काले चिन्ता व्यक्त गर्नुभयो। दुर्व्यसन नियन्त्रण र युवालाई त्यसबाट जोगाउन स्थानीय तह, प्रशासन, राजनीतिक नेतृत्व तथा सरोकारवाला सबैले संयुक्त रूपमा निगरानी र अभियान सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

अनुगमनका क्रममा  कार्यालय प्रमुख तथा कर्मचारीहरूलाई पछाडि परेको वर्ग र आम नागरिकलाई केन्द्रमा राखेर प्रभावकारी, सहज र मुस्कानसहितको सेवा प्रवाह गर्न आग्रह गर्दै मन्त्री खड्काले कानुन र कार्यविधिअनुसार सेवा दिन नसकिने अवस्था भए त्यसको कारण नागरिकलाई स्पष्ट रूपमा बुझाउन निर्देशन दिनुभयो।

जिल्लाबाट उठेका समस्या तथा गुनासाहरूलाई प्राथमिकताका साथ टिपोट गर्दै मन्त्री खड्काले जाजरकोटका समस्या प्रदेश मन्त्रिपरिषद् र मुख्यमन्त्रीसँगको छलफलमा प्रस्तुत गरी जिल्लाको विकास र समृद्धिका लागि आवश्यक पहल अघि बढाउने प्रतिबद्धता जनाउनुभयो।