कालिकोट । तिलागुफा नगरपालिका–१० रुडु मदिरामुक्त क्षेत्र घोषित भएको छ। वडा कार्यालय र महिला सञ्जालको पहलमा मदिरा तथा जुवाजन्य गतिविधि पूर्ण रूपमा प्रतिबन्ध लगाइएको हो।
स्थानीय सरकार तथा समुदायले मदिरा र जुवाका कारण पारिवारिक कलह, घरेलु हिंसा, आर्थिक समस्या तथा सामाजिक विखण्डन बढेको निष्कर्ष निकालेपछि यो निर्णय गरिएको हो।
वडाध्यक्ष मानबहादुर थापाको अध्यक्षता र नगर उपप्रमुख महेन्द्रबहादुर शाहीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सो घोषणा गरिएको हो।
नगर उपप्रमुख महेन्द्रबहादुर शाहीले भने, “मदिरा र जुवाले समाजलाई कमजोर बनाउने खतरा रहेको छ। रुडुको यो निर्णय उदाहरणीय हुनेछ। यसलाई प्रभावकारी कार्यान्वयन गर्न सबैको सहकार्य आवश्यक छ।”
निषेधित क्षेत्रमा के लागू हुन्छ
मदिरा बिक्री, वितरण, सेवन र ओसारपसारमा प्रतिबन्ध, जुवा, तास तथा अन्य नशालु पदार्थ प्रयोगमा कडाइ, सचेतना अभियान तथा निगरानी समूहको स्थापना, नियम उल्लंघन गर्नेहरूमाथि कानुनी कारबाही गरिने छ।
स्थानीय बासिन्दाले यो निर्णयलाई स्वागत गरेका छन्। समुदायका अगुवाहरूले प्रभावकारी कार्यान्वयनका लागि निरन्तर निगरानी, सचेतना अभियान तथा वैकल्पिक उपायहरू आवश्यक रहेको बताएका छन्।
यो निर्णय समाज सुधारको महत्वपूर्ण कदम भएको भन्दै नगरपालिकाले यसको सफल कार्यान्वयनका लागि आवश्यक नीति तथा कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएको छ। दियो खबरबाट साभार