हुम्लामा बोलेरो जीप दुर्घटना, तीन जना घाइते

  ।   २६ श्रावण २०८३, मंगलवार १९:१५

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–४ लौठीमा बोलेरो जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। कगाईबाट श्रीनगरतर्फ जादै गरेको भे १ च १६८५ नम्बरको डबल क्याप बोलेरो जीप लौठी खोलानजिकैको ओरालोमा अनियन्त्रित भएर दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार जीपमा चालकसहित पाँच जना सवार थिए। दुर्घटनामा अदानचुली गाउँपालिका–५ की २३ वर्षीया बिमला शाही, सोही वडाकी ३५ वर्षीया कलक छत्याल र चंखेली गाउँपालिका–३ का चालक उज्वल बुढा घाइते भएका छन्।

दुर्घटनामा बिमला शाहीको बायाँ हातको हड्डी भाँचिएको छ। कलक छत्यालको अनुहारमा चोट लागेको छ भने चालक बुढाको खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।

दुर्घटनाको खबर प्राप्त भएपछि गल्फागार्ड प्रहरीचौकीबाट प्रहरी वरिष्ठ हवल्दार मानबहादुर अधिकारीको नेतृत्वमा सात जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरी टोलीले घाइतेलाई उद्धार गरी उपचारका लागि श्रीनगर स्वास्थ्यचौकी पुर्‍याएको हो।

श्रीनगर स्वास्थ्यचौकीमा प्राथमिक उपचारपछि हातको हड्डी भाँचिएकी शाहीलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत रेफर गरिएको अदानचुली गाउँपालिकाका स्वास्थ्य संयोजक विनोद बुढाले जानकारी दिए। अन्य दुई घाइतेको भने स्थानीय स्वास्थ्यचौकीमै उपचार भइरहेको छ।

प्रहरीका अनुसार जीप दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ। दुर्घटना ओरालोमा जीप अनियन्त्रित भएर भएको प्रारम्भिक जानकारी आए पनि घटनाको वास्तविक कारण अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ।

पछिल्लो समय हुम्लाका ग्रामीण सडकमा वर्षायामका कारण सडक चिप्लो हुनुका साथै ठाउँ–ठाउँमा सडकको अवस्था जोखिमपूर्ण बन्दै गएको छ।

Next Post

भ्यानको ठक्करबाट ६५ वर्षीया महिलाको मृत्यु

२६ श्रावण २०८३, मंगलवार १९:१५
रुकुम पश्चिम । रुकुम पश्चिममा इभि भ्यानको ठक्करबाट गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–८ की ६५ वर्षीया काली बिटालु रहेकी छन्। त्रिवेणी गाउँपालिका–१० भयराथानस्थित भित्री सडकखण्डमा पैदल हिँडिरहेकी बिटालुलाई सोलाबाङबाट नुवाकोटतर्फ जाँदै गरेको बा.प्र.०८–००१ ज ०३८९ नम्बरको इभि भ्यानले ठक्कर दिएको थियो। […]

सम्बन्धित शीर्षक