जगदिश शाही
दैलेख । मानव अधिकार संरक्षण, सामाजिक न्याय र समाज रूपान्तरणमा युवाको भूमिकाबारे छलफल गर्न दैलेखमा अन्तरपुस्ता कार्यशाला सुरु भएको छ।
मानव अधिकार तथा सामाजिक न्याय अभियानअन्तर्गत जनप्रतिनिधि, सरोकारवाला तथा युवा मानव अधिकार रक्षकहरूको सहभागितामा मंगलबारदेखि दैलेख सदरमुकाममा दुई दिने कार्यशाला सुरु भएको हो। एईआइएन लक्जेम्बर्गको आर्थिक सहयोग, युवा मानव अधिकार रक्षक सञ्जालको समन्वय तथा रोयम नेपालको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको छ।
कार्यशालाको उद्घाटन गर्दै जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले विभिन्न पुस्ताबीच ज्ञान, सीप र अनुभव आदानप्रदानका लागि कार्यक्रम महत्वपूर्ण रहेको बताए। उनले युवालाई सामाजिक विकृति र कुलतबाट जोगाउँदै सकारात्मक अभियानमा जोड्न आवश्यक रहेको उल्लेख गरे।
महिला हिंसा, छुवाछूतलगायत सामाजिक विभेद अन्त्यका लागि सोच र व्यवहारमा परिवर्तन आवश्यक रहेको बताउँदै शाहीले सामाजिक रूपान्तरणमा युवाको सक्रिय भूमिका अपरिहार्य रहेको बताए।
मानव अधिकार आयोग कर्णाली प्रदेशका प्रमुख रमेशकुमार थापाले नागरिकको अधिकार संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताए। राज्यलाई नागरिकका अधिकारका विषयमा जवाफदेही बनाउन र आवाजविहीनहरूको आवाज उठाउन अधिकार रक्षकहरूको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो।
मानव अधिकार रक्षक पिताम्बर ढकालले लोकतन्त्र र मानव अधिकारको संरक्षण कुनै एक संस्था वा व्यक्तिको प्रयासबाट मात्र सम्भव नहुने बताए। अधिकार संरक्षणको अभियान आफैँबाट सुरु गर्नुपर्नेमा उनले जोड दिए।
नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष कमल शर्मा र इन्सेक प्रतिनिधि अमर सुनारले सामाजिक समस्या समाधान तथा मानव अधिकारका विषयमा निष्पक्ष सञ्चार र युवा सहभागिताको आवश्यकता औंल्याए।
कार्यक्रममा गैरसरकारी संस्था महासंघ दैलेखकी अध्यक्ष डिलकुमारी चन्द र युवा मानव अधिकार रक्षक सञ्जालकी सदस्य रमा श्रेष्ठले अधिकार संरक्षण तथा सामाजिक परिवर्तनका लागि व्यक्तिगत तहबाटै पहल सुरु गर्नुपर्ने बताए।
रोयम नेपालका कर्णाली प्रदेश संयोजक सन्तोष विकले संस्थाका गतिविधि तथा युवाको क्षमता अभिवृद्धि र अधिकार रक्षकको सुरक्षाका विषयमा जानकारी दिए। उनले युवा मानव अधिकार रक्षकको क्षमता विकास र सुरक्षाका लागि संस्था प्रतिबद्ध रहेको बताए।
युवा मानव अधिकार रक्षक सञ्जाल दैलेखका अध्यक्ष नारायण रिजालको अध्यक्षतामा भएको कार्यक्रममा उनले अन्तरपुस्ता संवादले अनुभव हस्तान्तरणसँगै मानव अधिकारसम्बन्धी चेतना अभिवृद्धिमा सहयोग पुग्ने बताए।
‘सुरक्षाका लागि सञ्चार रणनीति’ विषयमा केन्द्रित कार्यशालामा मानव अधिकार संरक्षण तथा प्रवद्र्धन, अधिकार रक्षकको सुरक्षा र सञ्चार रणनीतिका विषयमा छलफल भइरहेको छ।
कार्यशालामा दैलेख र कालिकोटका जनप्रतिनिधि, सरोकारवाला तथा युवा मानव अधिकार रक्षक गरी २५ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ। कार्यक्रम मंगलबार र बुधबार दुई दिन सञ्चालन हुनेछ।







