कर्णालीका हिमाली जिल्लामा वर्षको पहिलो हिमपात,जनजीवन प्रभावित, किसान उत्साहित

  ।   १० माघ २०८२, शनिबार ०८:५९

रतन रावल
मुगु । कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा यस वर्षको पहिलो हिमपात भएको छ। मुगु, हुम्ला, डोल्पा र जुम्ला जिल्लामा शनिबार रातिदेखि मौसम बदलीसँगै हिमपात सुरु भएको हो। कर्णालीका विभिन्न स्थानमा आइतबार पनि हिमपात जारी रहेको छ।

हिमपातपछि तापक्रम ह्वात्तै घट्दा जनजीवन प्रभावित बनेको छ। चिसोका कारण बिहान–बेलुकाको आवतजावत कठिन भएको स्थानीयवासीले बताएका छन्। तर लामो समयदेखि खडेरी झेल्दै आएका किसानका लागि भने हिमपात राहतको रूपमा आएको छ।
पछिल्ला वर्षहरूमा हिउँ ढिलो पर्न थालेपछि जौलगायत हिउँदे बाली र स्याउ उत्पादन प्रभावित हुँदै आएको थियो। हिउँ नपर्दा बाली सप्रिन कठिन हुने र स्याउ बगैचामा सिँचाइको समस्या देखिने गरेको किसानहरू बताउँछन्।

कृषि विकास कार्यालय मुगुका प्रमुखका अनुसार हिमपातले खेताली तथा लेकाली क्षेत्रमा लगाइने बालीका लागि प्राकृतिक सिँचाइको काम गर्छ। फागुनमा नयाँ स्याउका बिरुवा रोप्न माटोमा चिस्यान कायम राख्न हिउँ अत्यावश्यक हुने उहाँले जानकारी दिनुभयो।

मुगुका किसान तेजबहादुर रावलका अनुसार ढिलो भए पनि माघमै परेको हिउँ किसानका लागि खुसीको विषय बनेको छ। “यसले उत्पादन बढ्ने अपेक्षा गरिएको छ,” उहाँले भन्नुभयो।
त्यस्तै, हुम्लाकी सञ्चारकर्मी सङ्गिता बुमिका अनुसार जिल्लाका अधिकांश क्षेत्रमा बाक्लो हिमपात भएको छ। कृषि उत्पादनमा आत्मनिर्भर मानिने लिमि क्षेत्रमा हिमपात भएपछि किसान उत्साहित भएका छन्।

हिमपातका कारण शनिबारदेखि कर्णालीमा हवाई सेवा अवरुद्ध भएको छ। नेपालगन्जबाट जुम्ला, मुगु, हुम्ला र डोल्पाका लागि हुने नियमित उडान रोकिएका छन्, जसका कारण यात्रुहरू विमानस्थलमै अलपत्र परेका छन्। यद्यपि सडक यातायात भने सञ्चालनमै रहेको छ।

हिमपातपछि कर्णालीका पर्यटकीय गन्तव्यहरूमा पर्यटकको संख्या बढ्ने अपेक्षा गरिएको छ। विशेषगरी कर्णाली राजमार्ग हुँदै मुगुको रारा ताल र मुर्माटपमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकका लागि हिमपातले नयाँ आकर्षण थपेको छ।

Next Post

विरेन्द्रनगर जेसिजको ४७औँ पदस्थापना तथा पुरस्कार वितरण भव्य रूपमा सम्पन्न

१० माघ २०८२, शनिबार ०८:५९
सुर्खेत । विरेन्द्रनगर जेसिजको ४७औँ पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम विरेन्द्रनगर जेसिज वर्ष २०२५ का अध्यक्ष जेसि दिलिप जंग साहको सभाअध्यक्षतामा सुरु भई जेसिज वर्ष २०२६ का नव–निर्वाचित अध्यक्ष जेसि आशिष थापाको सभाअध्यक्षतामा सम्पन्न भएको हो। कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री […]

सम्बन्धित शीर्षक