सुर्खेत । विरेन्द्रनगर जेसिजको ४७औँ पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रम विरेन्द्रनगर जेसिज वर्ष २०२५ का अध्यक्ष जेसि दिलिप जंग साहको सभाअध्यक्षतामा सुरु भई जेसिज वर्ष २०२६ का नव–निर्वाचित अध्यक्ष जेसि आशिष थापाको सभाअध्यक्षतामा सम्पन्न भएको हो। कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजिव विक्रम साहले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।

कार्यक्रममा जेसिज वर्ष २०२६ का लागि अध्यक्ष पदमा निर्वाचित जेसि आशिष थापालाई वर्ष २०२५ का अध्यक्ष जेसि दिलिप जंग साहले आफ्नो गलामा रहेको चाँदीको माला लगाइदिँदै औपचारिक रूपमा नेतृत्व हस्तान्तरण गर्नुभएको थियो।

त्यस अवसरमा वर्ष २०२५ को अवधिमा संगठनमार्फत उत्कृष्ट कार्य सम्पादन गर्ने सदस्यहरूलाई अध्यक्ष साहले सम्मान तथा प्रशंसा पत्र प्रदान गर्नुभएको थियो। साथै कार्यक्रममा उपस्थित विशिष्ट अतिथिहरूलाई टोकन अफ लभ प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री साहले विरेन्द्रनगर जेसिजले युवाहरूलाई नेतृत्व, सेवा र व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्दै भन्नुभयो, “जेसिजजस्ता संस्थाले समाज परिवर्तनका लागि युवालाई सक्षम बनाउने काम गरिरहेका छन्। कर्णाली प्रदेशको समग्र विकासमा यस्ता युवामुखी संस्थाको भूमिका अत्यन्तै महत्वपूर्ण छ।

सभाअध्यक्ष तथा वर्ष २०२५ का अध्यक्ष जेसि दिलिप जंग साहले आफ्नो कार्यकालमा प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै भन्नुभयो, “सम्पूर्ण सदस्यहरूको साथ, सहकार्य र समर्पणकै कारण हामीले जेसिजको गरिमा अझ उचाइमा पुर्याउन सकेका छौँ। आगामी नेतृत्वले संगठनलाई थप सशक्त र प्रभावकारी ढंगले अघि बढाउने विश्वास लिएको छु।”

त्यसैगरी नव–निर्वाचित अध्यक्ष जेसि आशिष थापाले जिम्मेवारीप्रति प्रतिबद्धता जनाउँदै भन्नुभयो, “विरेन्द्रनगर जेसिजलाई सेवा, नेतृत्व र सकारात्मक परिवर्तनको नमुना संस्थाका रूपमा स्थापित गर्नु मेरो लक्ष्य हो। अघिल्ला अध्यक्षहरू तथा सम्पूर्ण सदस्यहरूको अनुभव र मार्गदर्शनलाई आत्मसात गर्दै अझ प्रभावकारी कार्यक्रमहरू ल्याउनेछु।”
कार्यक्रमको सञ्चालन विरेन्द्रनगर जेसिज वर्ष २०२४ का अध्यक्ष जेसि हिक्मत बहादुर साप्कोटाले गर्नुभएको थियो।








