मुगु । जिल्लाको छायाँनाथ रारा नगरपालिका–८ अन्तर्गत पर्ने झ्यारी गाउँमा अवस्थित श्री महादेव आधारभूत विद्यालयका ७५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। अक्कल कोपिला फाउन्डेसनको आर्थिक सहयोगमा विद्यार्थीहरूलाई कापी, कलमलगायत आवश्यक शैक्षिक सामग्री प्रदान गरिएको हो।
दुर्गम भेगका विद्यालयहरूमा अध्ययनरत बालबालिकाले भोग्दै आएको अभावलाई मध्यनजर गर्दै फाउन्डेसनले यो सहयोग गरेको जनाएको छ। सानो उमेरमा आफैंले भोगेको कठिनाइ र शिक्षाबाट वञ्चित हुनुपरेको पीडालाई स्मरण गर्दै समाजसेवी बोहरा दम्पतीले आफ्ना साना सहयोगले पनि विद्यार्थीहरूमा ठूलो हौसला मिलोस् भन्ने उद्देश्यका साथ निरन्तर सहयोग गर्दै आइरहेका छन्।
केही दिनअघि मात्र गृहजिल्ला मुगु पुगेकी अक्कल कोपिला फाउन्डेसनकी संस्थापककी धर्मपत्नी कोपिला बोहराले आफू सुगम क्षेत्रमा जन्मिए पनि श्रीमान् दुर्गम भेगमा हुर्किएकाले त्यहाँको दुःख, कष्ट र अभाव नजिकबाट बुझेको बताउनुभयो। उहाँले दिनदुखी, गरिब तथा असहाय नागरिकका लागि जीवनभर सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। मुगु मात्र होइन, देशभरका विपन्न तथा पीडित व्यक्तिहरूलाई सहयोग गर्दै आएको बोहरा दम्पती हाल स्पेनको कोस्टा ब्लाङ्कामा बसोबास गर्दै आउनुभएको छ।
पूर्व सशस्त्र प्रहरी बलका धावक खेलाडीसमेत रहनुभएका बोहराले सानैमा ठूलो अभाव भोग्नुपरेको र चाहेजस्तो शिक्षा प्राप्त गर्न नपाएको दुःखका कारण आजीवन गृहजिल्लाका विद्यार्थीहरूलाई शिक्षामा कुनै कमी हुन नदिने दृढ प्रतिबद्धता व्यक्त गर्नुभयो। करिब लामो समयदेखि म समाजसेवामा लागेको छु। मेरो जीवन रहेसम्म समाजसेवा जारी रहन्छ। जस्तोसुकै अवस्था आए पनि दुःखी, गरिब र असहाय व्यक्तिहरूका लागि सक्दो सहयोग गरिरहनेछु,” बोहराले भन्नुभयो।
विद्यालयका प्रधानाध्यापक देवबहादुर बिष्टले बोहराले पटक–पटक विद्यालयलाई सहयोग गर्दै आएको उल्लेख गर्दै भन्नुभयो, पहिले दिनुभएको कापी अझै पनि केही विद्यार्थीका हातमा छन्। फेरि नयाँ कापी पाएपछि विद्यार्थीहरू निकै खुसी भएका छन्। यस्तो सहयोगले पढाइप्रति उनीहरूको उत्साह झनै बढेको छ।”
यस प्रकारको सहयोगले दुर्गम क्षेत्रका विद्यार्थीहरूको शैक्षिक यात्रामा सकारात्मक प्रभाव पार्ने स्थानीयवासीहरूको विश्वास छ।








