अपडेट

बालिकामाथि बलात्कारपछि हत्या, युवा मानवअधिकार रक्षक सञ्जालको गम्भीर ध्यानाकर्षण

  ।   २६ फाल्गुन २०८२, मंगलवार १५:४६

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित सहिद पार्क नजिकैको जंगल क्षेत्रमा १६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनाप्रति युवा मानवअधिकार रक्षक सञ्जालले गम्भीर ध्यानाकर्षण जनाएको छ।

सुर्खेत जिल्ला गुर्भाकोट नगरपालिका–६ घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१ मा बसोबास गर्दै आएकी ती बालिकामाथि भएको बलात्कारपछि हत्या गरिएको घटनालाई सञ्जालले अमानवीय, क्रूर र जघन्य अपराधको संज्ञा दिएको छ।

सञ्जालले एक विज्ञप्ति जारी गर्दै यस्तो घटनाले समाजमा असुरक्षा, भय र आक्रोशको वातावरण सिर्जना गरेको उल्लेख गरेको छ। “एक बालिकाको जीवनको अधिकार, सम्मानपूर्वक बाँच्न पाउने अधिकार र सुरक्षाको हकको घोर उल्लङ्घन भएको छ,” विज्ञप्तिमा भनिएको छ।

सञ्जालले घटनाको उच्चस्तरीय, निष्पक्ष र पारदर्शी छानबिन गरी संलग्न दोषीलाई तुरुन्त पक्राउ गरी कानून बमोजिम कडा कारबाही गर्न माग गरेको छ। साथै पीडित परिवारलाई तत्काल राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र उनीहरूको सुरक्षाको प्रत्याभूति गर्न पनि आग्रह गरिएको छ।

यस्तै, पीडित परिवारलाई मनोसामाजिक परामर्शको व्यवस्था गर्नुपर्ने तथा भविष्यमा यस्ता घटना नदोहोरिन सार्वजनिक स्थलमा सुरक्षा व्यवस्था कडा पार्न, प्रभावकारी प्रहरी गस्ती बढाउन र सम्भावित जोखिम क्षेत्रहरूको पहिचान गरी नियमित अनुगमन गर्न पनि सञ्जालले माग गरेको छ।

युवा मानवअधिकार रक्षक सञ्जाल कर्णली प्रदेश संयोजक सन्तोष विक, युवा मानवअधिकार रक्षक सञ्जाल सुर्खेत कि अध्यक्ष पुजा दमाई, उपाध्यक्ष पर्वत परियार तथा सदस्यहरू सुनिता बादी, अनिता विक र दिपेन्द्र रावतले हस्ताक्षर गरेको विज्ञप्तिमा बालिका तथा महिलामाथि हुने हिंसा रोक्नु र न्याय सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व भएको स्मरण गराइएको छ।

सञ्जालले घटनाको शीघ्र छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन र पीडित परिवारलाई न्याय दिलाउन राज्यसँग जोडदार माग गरेको छ।

Next Post

सुर्खेतमा किशोरी बलात्कारपछि हत्या भएको आशंका, चार नाबालक पक्राउ

२६ फाल्गुन २०८२, मंगलवार १५:४६
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया एक किशोरी मृत अवस्थामा फेला परेपछि बलात्कारपछि हत्या गरिएको आशंकामा प्रहरीले चार जना नाबालकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ परेका चारै जना वीरेन्द्रनगर क्षेत्रका १८ वर्षमुनिका किशोर रहेका छन्। पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भएकी इनिसा विक हाल […]

सम्बन्धित शीर्षक