जुम्ला । जुम्लाको सिंजा क्षेत्रमा संघियता कार्यान्वयनपछि नापी र मालपोत कार्यालय स्थापना हुने भएको छ । संघियता कार्यान्वयनको करिब ७ वर्षपछि सिंजा क्षेत्रका तीन पालिका लाभान्वित हुनेगरी सिंजामा मालपोत कार्यालय स्थापना हुने टुंगो लागेको हो ।
सिंजामा नापी र मालपोत कार्यालय स्थापना गर्ने सरकारको निर्णयले ऐतिहासिक सिंजा क्षेत्रले आर्थिक र प्रशासनिक रुपमा ठूलो सफलता भएको छ।
मंगलबार बसेको मन्त्री परिषदको निर्णयले सिंजामा मालपोत र नापी कार्यालय स्थापना गर्ने औपचारिक बाटो खोलेको छ । पहिलाको सरकार मातहतका निकायले बाधा अडचन गरेको कामलाई वर्तमान सरकारले सहजै निर्णय गरी दुर्गम सिंजामा नापी मालपोत सेवा विस्तार गरेको छ ।
संघियता कार्यान्वयनपछि गाउँ गाउँमा सिंहदरबार आएपनि नापी र मालपोतको झन्झझटिलो सेवाले नागरिक असुन्तुष्ट हुदैँ आएका छन । जग्गा खरिद,नामसारी,राजिनामा लगायतका काम गर्न महंगो खर्च गरेर सदरमुकाम धाउनु पर्ने सिंजाबासीको बाध्यता थियो । हप्तादिन सम्म होटलबास बस्नु पर्ने, आउजाउ,होटलबास,कागजात व्यवस्थापनमा न्युनतम १० देखि १५ हजार रुपैया खर्च हुने गरेको सिंजाबासी बताउछन् । सिंजामा नापी र मालपोत स्थापना गर्ने सरकारको निर्णय संगै सिंजा क्षेत्रका हिमा,सिंजा र कनकासुन्दरी गाउँपालिकाका नागरिक उत्साहित भएका छन ।
सिंजा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले संघियताको उपहार स्वरुप सिंजा क्षेत्रका तीन पालिकाले नापी र मालपोत पाएको बताउनु भयो ।
उहाँले भन्नुभयो,’स्थानीय सरकारको निरन्तर प्रयास र लामो पर्खाइपछि मात्रै यो नापी र मालपोत स्थापनाको निर्णय सम्भव भएको हो। निर्वाचित भएदेखिको बाचा पूरा भएको छ । मन्त्रीपरिषदको ऐतिहासिक निर्णयले नापी मालपोत स्थापना मात्र नभई संघियता कार्यान्वयनको शसक्त उदाहरण समेत दिएको छ । व्यवस्था बलियो बनाउन संरचनाको स्थायीत्वमा जोड दिनुपर्छ ।’
अघिल्लो सरकार सकारात्मक रहे पनि मुख्य सचिवले कानुनी अड्चनका देखाएका कारण यो कामले पूर्णता पाउन सकेको थिएन। तर,प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सिंजाली जनताको आवाज सुनेको छ। भने संघियताको मर्म बुझेको छ । यो निर्णयले प्रधानमन्त्री ओली जुम्लाको विकासप्रति सकरात्मक रहेको स्पष्ट देखिएको छ ।
सिंजामा नापी र मालपोत स्थापना गर्न जुम्लाका सबै दलहरुको उतिकै पहल र प्रयास समान रहेको छ । यसमा कुनै दलले श्रय लिनुभन्दा पूर्वाधार निर्माण तथा प्रभावकारी संचालनमा सधैले जोड दिनु पर्ने देखिएको छ ।
खस भाषाको उद्गमस्थलका रूपमा प्रसिद्ध यस स्थानमा विकेन्द्रीकरणको अभ्यासले विकासको नयाँ युगको सुरुवात गरेको भन्दै जुम्लामा खुसीयाली मनाएका छन् । अब सिंजा क्षेत्रका तीनै पालिकाका नागरिकले घरआँगनमै सेवा पाउने छन् ।