काठमाडौं । नेकपा एमालेले पार्टी नेता भीम रावललाई संगठित सदस्यबाट निष्कासन गरेको छ । पार्टीलाई निरन्तर कमजोर बनाउने अभिव्यक्ति दिएका कारण रावललाई संगठित सदस्यबाट मुक्त गरिएको हो ।
बुधबार बसेको पार्टी कार्यालय च्यासलमा एमाले सचिवालय बैठकले रावलका अभिव्यक्तिहरु पार्टीविपरीत रहेको भन्दै संगठित सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । पार्टीलाई निरन्तर कमजोर बनाउने अभिव्यक्ति दिएका कारण रावललाई संगठित सदस्यबाट मुक्त गरिएको ज्ञवालीले बताउनुभएको हो ।
बैठकले पार्टी कार्यालय निर्माणका सन्दर्भमा दिएको अभिव्यक्तिका बारेमा स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई सोधिएको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै पार्टीको निर्देशनमा चल्न निर्देशित गर्दै ६ महिनाका लागि जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको ज्ञवालीले बताउनुभयो।