अपडेट

युवा मानवअधिकार रक्षकका लागि आत्म–सुरक्षा र मानसिक सुदृढता : जाजरकोटमा २ दिने तालिम सम्पन्न

  ।   ९ मंसिर २०८२, मंगलवार १५:४२

सुर्खेत । कर्णाली प्रदेशका पाँच जिल्लामा सक्रिय युवा मानवअधिकार रक्षकहरूलाई लक्षित गर्दै जाजरकोटको खलंगामा दुई दिने आत्म–सुरक्षा तथा मानसिक सुदृढता तालिम सम्पन्न भएको छ। मानव अधिकार तथा सामाजिक न्याय अभियान–रोयम नेपालको आयोजनामा, युवा मानवअधिकार रक्षक सञ्जालको समन्वय र ए.इ.आइ.एनको सहयोगमा मंसिर ६ र ७ गते यो तालिम सञ्चालन गरिएको हो।

तालिममा जाजरकोट, रुकुम पश्चिम, सुर्खेत, डोल्पा र सल्यानबाट आएका २५ जना युवा मानवअधिकार रक्षकहरूको उत्साहपूर्ण उपस्थिति थियो।सहभागीहरू अधिकार संरक्षणको अभियानमा दैनिक रूपमा सामना गर्नुपर्ने खतरा, तनाव र मनोवैज्ञानिक दबाबसँग परिचित छन्। यस्तो यथार्थलाई मध्यनजर गर्दै तालिमले उनीहरूलाई आत्म–रक्षा सीप, मानसिक दृढता तथा जोखिम व्यवस्थापनका उन्नत अभ्यासहरू सिकाएको आयोजकले जानकारी दियो।

रोयम नेपाल कर्णाली प्रदेश संयोजक सन्तोष वि.क.ले मानवअधिकार क्षेत्रमा काम गर्ने युवाहरू निरन्तर जोखिममा रहने भएकाले आफ्नो मानसिक स्वास्थ्य, सुरक्षाबोध र कार्यक्षमतालाई बलियो बनाउने किसिमका तालिम अत्यन्त आवश्यक हुने बताए।
उनले भने, “अधिकारका सवालमा लागि परेका युवाले कहिलेकाहीँ आफैँलाई पनि सुरक्षित राख्न नसक्ने चुनौती आउँछ। यस्तो अवस्थामा आत्म–रक्षा र मानसिक सुदृढता दुवै अनिवार्य छन्। राज्य, समुदाय र संस्थाहरूले हातेमालो गरेर मानवअधिकार अभियन्ताहरूलाई सुरक्षित वातावरण तयार गर्नुपर्छ।”

तालिममा व्यावहारिक आत्म–रक्षा अभ्यासदेखि लिएर मनोवैज्ञानिक तनाव, धम्कीको पहिचान, जोखिम मूल्यांकन, सुरक्षित कार्य रणनीति, संवाद कौशल र संकट व्यवस्थापनजस्ता विषय समेटिएका थिए। सहभागीहरूले गोपनीयता, डिजिटल सुरक्षा, आचरण संहिता तथा फिल्डमा हुने संवेदनशील अवस्थाको सामना गर्ने तरिकाबारे पनि अनुभवजन्य सिकाइ पाएका थिए।

सहभागीहरूले तालिमले आफूहरूलाई अझ आत्मविश्वासी, संयमित र रणनीतिक बनाएको अनुभव सुनाए।

आयोजक संस्थाहरूले यस्तो तालिमले कर्णाली प्रदेशका युवा मानवअधिकार रक्षकहरूलाई दीर्घकालीन रूपमा सक्षम, सुरक्षित र मानसिक रूपमा सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्। उनीहरूको अपेक्षा छ—यस्ता तालिम विस्तार भए मानवअधिकार अभियानहरू अझ प्रभावकारी, सुरक्षित र परिणाममुखी बन्नेछन्।

Next Post

मुगुमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान विविध कार्यक्रमसहित सुरु

९ मंसिर २०८२, मंगलवार १५:४२
रतन रावल, मुगु । विश्वभर मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मुगुमा आजदेखि औपचारिक रूपमा सुरु गरिएको छ। “प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने मूल नारासहित सुरु भएको अभियानको उद्घाटन छायाँनाथ रारा नगरपालिकाका कार्यवाहक नगर प्रमुख ऐश्वर्य मल्लको सभाध्यक्षतामा सम्पन्न भयो। अभियानको प्रारम्भ रंगीन : साथ […]