सुर्खेत । कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन (DRRM)लाई लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) सँग जोड्दै प्रभावकारी बनाउन नागरिक समाज संस्था प्लेटफर्म गठन गरिएको छ।

SAC नेपालको संयोजकत्वमा ११ सदस्यीय कार्यसमिति गठन गर्दै उक्त प्लेटफर्म स्थापना गरिएको हो। प्लेटफर्मले नागरिक समाज संस्था, सरकारी निकाय तथा अन्य सरोकारवालाबीच सहकार्य अभिवृद्धि गर्ने लक्ष्य लिएको छ।

प्लेटफर्मले विशेषगरी विपद् पूर्वतयारी, प्रतिकार्य, पुनर्लाभ तथा उत्थानशीलता निर्माणका सबै चरणमा समावेशी र समतामूलक अभ्यास प्रवर्द्धन गर्नेछ। यसमार्फत उत्तरदायी GEDSI प्रणालीलाई संस्थागत गर्ने उद्देश्य राखिएको छ।

यस प्लेटफर्मले कर्णाली प्रदेशमा कार्यरत नागरिक समाज संस्था, मानवीय सहायता क्षेत्र, विकास साझेदार तथा स्थानीय समुदायसँग सहकार्य गर्दै काम गर्नेछ। समन्वय तथा सञ्जालीकरण, नीतिगत पैरवी, ज्ञान व्यवस्थापन, क्षमता अभिवृद्धि तथा सामुदायिक संलग्नता यसका प्रमुख कार्यक्षेत्र रहनेछन्।
प्लेटफर्ममार्फत त्रैमासिक समन्वय बैठक, सूचना आदानप्रदान, उत्कृष्ट अभ्यासहरूको दस्तावेजीकरण तथा द्रुत लैङ्गिक विश्लेषणलाई प्रवर्द्धन गरिने जनाइएको छ। साथै, विपद्का समयमा सीमान्तकृत तथा जोखिमयुक्त समूहहरूको संरक्षण र समावेशीकरणका लागि विशेष पहल गरिनेछ।

प्लेटफर्मले मानवअधिकारमा आधारित दृष्टिकोण, “कोही पछाडि नपरून्” सिद्धान्त, पारदर्शिता, जवाफदेहिता तथा “कुनै हानि नपुर्याउने” नीति अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
यस पहलले कर्णाली प्रदेशमा विपद् व्यवस्थापनलाई अझ समावेशी, प्रभावकारी र समुदायमैत्री बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।










