सुर्खेत। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा चोरी, अपराध र आपराधिक क्रियाकलाप बढ्न थालेपछि नगरपालिकाले व्यापक सुरक्षा रणनीति अघि सारेको छ। शान्ति सुरक्षालाई सुदृढ बनाउने उद्देश्यले नगरपालिकाले बिहीबारदेखि ३५० भन्दा बढी स्थानमा सिसी क्यामेरा जडानको काम औपचारिक रूपमा सुरु गरेको हो।
सिसी क्यामेरा जडान कार्यक्रम नेपाल टेलिकम प्रादेशिक कार्यालय सुर्खेत, वीरेन्द्रनगर नगरपालिका र जिल्ला प्रहरी कार्यालयबीच भएको त्रिपक्षीय सम्झौताअनुसार अघि बढाइएको हो। सम्झौताअनुसार पहिलो चरणमा आगामी छ महिनाभित्र १०५ स्थानमा क्यामेरा जडान गरिनेछ भने दोस्रो चरणमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै थप २५० स्थानमा क्यामेरा राखिनेछ।
नगरप्रमुख मोहनमाया ढकालका अनुसार सिसी क्यामेरा राजमार्ग, प्रमुख चोक, पर्यटन स्थल र जोखिमयुक्त वडाहरूमा जडान गरिनेछ। सिसी क्यामेरा जडानसँगै अपराध नियन्त्रणमा ठुलो सहायता पुग्नेछ, उनले भनिन्।
प्रविधिमैत्री नगर विकासको दृष्टिकोणसहित टेलिकमले क्यामेराहरू अप्टिकल फाइबर नेटवर्कमार्फत जडान गर्नेछ। साथै, हाललाई वडा नम्बर ६ र ८ स्थित घण्टाघर क्षेत्रमा तथा नगरपालिकाको प्राङ्गणमा निःशुल्क वाइफाइ सेवा पनि उपलब्ध गराइनेछ।
वीरेन्द्रनगरलाई डिजिटल नगरपालिकाु को रूपमा स्थापित गर्ने लक्ष्यसहित चालु आर्थिक वर्ष २०८२/८३ मा ११ लाख ६९ हजार रुपैयाँ बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ। जडान भएका क्यामेराको व्यवस्थापन नेपाल टेलिकमले गर्नेछ भने चौबिसै घण्टा निगरानीको जिम्मा जिल्ला प्रहरी कार्यालयले लिनेछ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख सुधीरराज शाहीले क्यामेराको प्रयोगले नगरमा शान्ति सुरक्षाको अवस्था थप मजबुत हुने विश्वास व्यक्त गरे। त्यस्तै, विश्वविद्यालय क्षेत्र वरिपरि शान्तिक्षेत्र घोषणा गर्दै अध्ययन–अनुसन्धानको प्रवर्द्धनका लागि प्रविधिमा आधारित सिर्जनशील कार्य गर्ने वातावरण तयार पारिने टेलिकमले जनाएको छ।
सिसी क्यामेराको प्रभावकारी प्रयोग र सार्वजनिक वाइफाइ सेवा सँगै वीरेन्द्रनगरले अब सुरक्षित र प्रविधिमैत्री नगरीको पहिचान निर्माण गर्ने अपेक्षा गरिएको छ।