सुर्खेत। कालिकोटको शुभकालिका गाउँपालिका–६ हाउडीमा बिहीबार राति भएको भीषण आगलागीले चार परिवारलाई विस्थापित बनाएको छ। मध्यरात १२ बजेतिर विद्युत सर्ट भएर सुरु भएको आगलागीले साझा ९ कोठे घर जलेर नष्ट हुँदा करिब ३० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो।
जलेको घरमा रमेश शाही, खडकबहादुर शाही, वीरेन्द्र शाही र नरेन्द्र शाहीका परिवार बस्दै आएका थिए। काठका संरचना र कपडाबाट सुरु भएको आगोले क्षणभरमै पुरै घर लपेटिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी टेकबहादुर रावतले जानकारी दिए।
भाग्यले ज्यान बचेको हो, डिएसपी रावतले भने, घटनाको बेला घरभित्र रहेका खडकबहादुर शाही, उनकी भाउजू, छोरा रमेश र नरेन्द्र शाहीका परिवार समयमै बाहिर निस्किन सफल भए।
अग्निकाण्ड हुँदा अधिकांश परिवारका सदस्यहरू पशुचौपायासहित लेकमा गएका थिए, जसले मानवीय क्षति हुन नदिएको स्थानीयले बताए। तर, नगद, सुन, चाँदी, अन्न, लत्ताकपडा, भाँडावर्तनदेखि काठसम्म सबै जलेर नष्ट भएको प्रहरी स्रोतले पुष्टि गरेको छ।
पीडितहरूका अनुसार ६ लाख ५० हजार नगद, ९ तोला सुन, १५ तोला चाँदी, करिब २ लाख बराबरको अन्न, ३ लाख बराबरको लत्ताकपडा, ३ लाखको भाँडाकुँडा र १ लाखको काठ जलेको विवरण छ।
प्रहरी टोली राति नै घटनास्थल पुगे पनि स्थानीयको सहयोगमा मात्रै शुक्रबार बिहान आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको सूचना अधिकारी भीरबहादुर सुनारले जानकारी दिए।
शुभकालिका–६ का वडाध्यक्ष दीपबहादुर शाहीका अनुसार, घर गुमाएका १५ जना पीडितलाई अस्थायी रूपमा आफूले आफ्नै घरमा आश्रय दिएका छन्। स्थानीय तह र सम्बन्धित निकायबाट राहत र पुनःस्थापनाको अपेक्षा गरिएको छ।







