माग सम्बोधन नभएसम्म क्षेत्रीय अधिवेशन अघि नबढाउन आग्रह

  ।   १० आश्विन २०८३, शनिबार १३:५५

सुर्खेत । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वीरेन्द्रनगर नगरपालिका–३ को अधिवेशनसम्बन्धी विवाद चर्किँदै गएको छ। वडा अधिवेशन खारेजीको मागसहित आन्दोलनरत समूहले आफ्नो माग सम्बोधन नभएसम्म सुर्खेत क्षेत्र नं. १ को क्षेत्रीय अधिवेशन प्रक्रिया अघि नबढाउन आग्रह गरेको छ।

आन्दोलन संघर्ष समिति तथा समानान्तर नेपाली कांग्रेस वीरेन्द्रनगर–३ ले क्षेत्रीय प्रतिनिधिलाई पत्र पठाउँदै वडा नं. ३ को अधिवेशनसम्बन्धी विवाद समाधान नगरी क्षेत्रीय अधिवेशन अघि बढाइए आफूहरूको आन्दोलन थप सशक्त बनाउने संकेत गरेको हो।

समितिले वीरेन्द्रनगरमा भएको वडा नं. ३ को अधिवेशनको वैधानिकता र प्रक्रियामाथि प्रश्न उठाउँदै त्यसलाई खारेज गर्नुपर्ने माग राखेको छ। उक्त मागका कारण वीरेन्द्रनगर नगर अधिवेशनसमेत स्थगित भएको समितिको दाबी छ।

समितिका संयोजक तथा समानान्तर नेपाली कांग्रेस वीरेन्द्रनगर–३ का सभापति बालकृष्ण हमाल चालिसेले आफूहरूको आन्दोलन कुनै व्यक्ति वा समूहविरुद्ध नभई पार्टीको विधि, विधान र संगठनात्मक न्यायका लागि भएको बताएका छन्।

उनले नेपाली कांग्रेसलाई फुटतर्फ नभई जुटतर्फ लैजान आफूहरूले यो कदम चालेको बताए। पार्टीप्रति निरन्तर समर्पित रहँदै आफ्ना सदस्य, कार्यकर्ता तथा नेता–कार्यकर्ताको हकहित र सम्मानका लागि आवाज उठाउनु आफूहरूको दायित्व भएको उनको भनाइ छ।

“हाम्रो उद्देश्य कांग्रेसलाई कमजोर बनाउनु होइन, विधि र प्रक्रियाबाट अझ बलियो बनाउनु हो,” हमालले भने, “समस्या समाधान गरेर सबैलाई समेट्दै पार्टीलाई एकताबद्ध बनाउने वातावरण निर्माण हुनुपर्छ।”

समितिले वडा नं. ३ को अधिवेशनसम्बन्धी माग तत्काल सम्बोधन गरी निष्पक्ष वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ। साथै, आफूहरूको न्याय र विधिको पक्षमा जारी आन्दोलनमा साथ र समर्थन गर्न कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई अपिल गरेको छ।

यता, क्षेत्रीय अधिवेशनको प्रक्रिया अघि बढाउने विषयमा उत्पन्न विवादले नेपाली कांग्रेस सुर्खेत क्षेत्र नं. १ को आन्तरिक राजनीतिक गतिविधिलाई समेत प्रभावित पार्ने देखिएको छ।

Next Post

कर्णालीमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक अधिकारका मुद्दा उठाउँदै प्रथम अधिवेशन

१० आश्विन २०८३, शनिबार १३:५५
  कर्णाली इन्द्रेणी आवाजको प्रथम अधिवेशन तथा स्थापना दिवस सम्पन्न, अधिकारका सवालमा नीतिगत पहल गर्ने प्रतिबद्धता सुर्खेत ।कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कर्णाली इन्द्रेणी आवाजको प्रथम वार्षिक साधारणसभा तथा स्थापना दिवस सम्पन्न भएको छ। लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकार, समानता, सामाजिक न्याय र समावेशिताका लागि क्रियाशील संस्थाले प्रथम अधिवेशनका क्रममा […]