कालिकोट । “मेरो दिन, मेरो अधिकार” भन्ने मूल नाराका साथ ३४ औँ अन्तर्राष्ट्रिय बाल दिवस शुभकालिका गाउँपालिकामा विभिन्न कार्यक्रमसहित भव्य रूपमा मनाइएको छ।

शुभकालिका गाउँपालिका वडा नं.–५ का अध्यक्ष मिम बहादुर शाहीको अध्यक्षता तथा गाउँपालिकाकी उपाध्यक्ष धर्मकला शाहीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा गाउँपालिका प्रवक्ता एवं वडा नं.–६ का अध्यक्ष दिप बहादुर शाही, वडा नं. –४ का अध्यक्ष प्रदिप प्रसाद चौलागाईं लगायत विद्यालयका प्रध्यानाध्यापक, शिक्षक, अभिभावक र विद्यार्थीको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा सेभ द चिल्ड्रेन र NNSWA काे आर्थिक सहयाेग भिडिसेफ नेपालको सहजीकरण तथा शुभकालिका गाउँपालिकाको आयोजनामा सम्पन्न गरिएको हो।
उपाध्यक्ष शाहीका अनुसार बालदिवस मनाउनुको उद्देश्य बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण, खेलकुद, अभिव्यक्ति स्वतन्त्रता र संरक्षणका अधिकारहरू प्रवर्द्धन गर्नु तथा तिनको कार्यान्वयनमा सबै पक्षलाई निरन्तर सचेत गराउनु हो।
उनले बालअधिकारमा देखापर्ने बालश्रम, बालविवाह, हिंसा, भेदभाव जस्ता समस्याहरू अन्त्य गर्न सरकार, समुदाय र परिवार सबैले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिइन्। सुरक्षित वातावरण, गुणस्तरीय शिक्षा र उज्यालो भविष्य सुनिश्चित गरी बालमैत्री समाज निर्माण गर्नु आजको आवश्यकता रहेको उनको भनाइ थियो।
कार्यक्रमका विशेष अतिथि वडा नं.–४ का अध्यक्ष चौलागाईंले बालबालिकाको प्रतिभा, सिर्जनशीलता र क्षमता उजागर गर्न सांस्कृतिक कार्यक्रम, खेलकुद तथा विभिन्न प्रतियोगिताले महत्वपूर्ण योगदान दिने बताए। उनले अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार बालअधिकार प्रवर्द्धनमा नेपालले अझ मजबुत भूमिका निर्वाह गर्नु आवश्यक रहेको उल्लेख गरे।
कार्यक्रमअन्तर्गत आयोजित हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई शुभकामना तथा बधाइ प्रदान गरिएको थियो।
उपाध्यक्ष शाहीले शैक्षिक प्रदर्शनी मेला तथा प्रतियोगितामा सक्रिय सहभागीता जनाउने सबैलाई धन्यवाद दिँदै कार्यक्रमको समापन गरेकी थिइन्।
शुभकालिका गाउँपालिकाका वडा नं.–१ देखि ८ सम्म विभिन्न गतिविधि सञ्चालन गरी बाल दिवस उत्साहपूर्वक मनाइएको गाउँपालिकाले जनाएको छ।







