सुर्खेत । कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री एवं सरकारका प्रवक्ता कल्याणी खड्काले बजेटको प्रभावकारी कार्यान्वयन, अधुरा तथा बहुवर्षीय आयोजनाको व्यवस्थापन र सुशासनलाई प्राथमिकता दिँदै प्रदेशको विकासलाई गति दिने गरी काम भइरहेको बताउनुभएको छ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आयोजित पत्रकार भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री खड्काले मन्त्रालयको कार्यप्रगति, आगामी कार्ययोजना र प्रदेशमा सञ्चालित विकास गतिविधिबारे जानकारी दिँदै निर्धारित समयभित्र आयोजना सम्पन्न गर्न आवश्यक समन्वय र सहजीकरणमा जोड दिइएको बताउनुभयो।
मन्त्री खड्काका अनुसार मन्त्रालयको जिम्मेवारी सम्हालेपछि अधुरा तथा बहुवर्षीय आयोजनाको अवस्था, कार्यान्वयनको प्रगति र समयमै सम्पन्न गर्नुपर्ने कामबारे अध्ययन तथा समीक्षा गरिएको छ। आयोजना कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न सम्बन्धित सचिव, कर्मचारी, निर्माण व्यवसायी तथा मुख्यमन्त्रीसहित आवश्यक छलफल र समन्वय भइरहेको उहाँले जानकारी दिनुभयो।
उहाँले विनियोजित बजेटको प्रभावकारी कार्यान्वयनमार्फत विकास निर्माणका कामलाई गति दिनु सरकारको प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै बजेट अभाव, प्रक्रियागत जटिलता तथा प्रशासनिक अवरोध हटाएर आयोजनालाई परिणाममुखी बनाउने प्रयास भइरहेको बताउनुभयो।
कर्णाली प्रदेशको समृद्धिका लागि स्थानीय स्रोतसाधनको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिँदै मन्त्री खड्काले प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय सम्भावनाको सदुपयोग गरी पर्यटन प्रवर्द्धन, स्थानीय रोजगारी सिर्जना र नागरिकलाई आत्मनिर्भर बनाउने कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो।
मन्त्रालयका कामकारबाहीलाई थप प्रभावकारी बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले प्रदेशका विकासका सम्भावना, नागरिकका समस्या र सरकारका गतिविधिलाई तथ्यपरक रूपमा प्रस्तुत गर्न पत्रकारहरूलाई आग्रह गर्नुभयो। सरकारका सकारात्मक प्रयासलाई उजागर गर्नुका साथै सुधार गर्नुपर्ने विषयमा रचनात्मक सुझाव र खबरदारी आवश्यक रहेको उहाँको भनाइ थियो।
कार्यक्रममा मन्त्रालयका सचिव, शाखा प्रमुख, कर्मचारी तथा सञ्चारकर्मीबीच मन्त्रालयको कार्यप्रगति, समग्र कर्णाली प्रदेशमा सञ्चालित कार्यक्रम तथा गतिविधि र भावी कार्ययोजनाबारे छलफल भएको थियो। पत्रकारितामार्फत प्राप्त हुने सुझाव, सूचना र खबरदारीलाई मन्त्रालयका कामकारबाही प्रभावकारी बनाउन उपयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको मन्त्रालयले जनाएको छ।
यसैबीच, नेपालीहरूको महान् पर्व बडादसैँ, शुभ दीपावली तथा छठ पर्वको अवसरमा मन्त्री खड्काले प्राकृतिक विपद् तथा विभिन्न घटनाबाट प्रभावित नागरिकप्रति सहानुभूति व्यक्त गर्दै सबैलाई आपसी सद्भाव, सहयोग र भाइचारासहित चाडपर्व मनाउन आग्रह गर्नुभएको छ।
उहाँले समाजमा विद्यमान असमझदारी, वैमनस्यता र विभाजनलाई अन्त्य गर्दै सकारात्मक सोच, सामाजिक एकता र सहकार्यलाई बलियो बनाउनुपर्ने बताउनुभयो। कठिन परिस्थितिमा रहेका नागरिकलाई सहयोग गर्दै चाडपर्वको खुसी सबैसँग बाँड्न सके मात्रै यसको वास्तविक महत्त्व स्थापित हुने उहाँको भनाइ थियो।
कार्यक्रमको अवसरमा मन्त्री खड्काले उपस्थित पत्रकार, मन्त्रालयका सचिव, शाखा प्रमुख तथा कर्मचारीसहित सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ, दिदीबहिनी, सुरक्षाकर्मी र राजनीतिक दलका प्रतिनिधिहरूमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै चाडपर्वको हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो ।







