कालिकोट । मंगलबार दिउँसो एक्कासी परेको भीषण असिनापानीले कालिकोट जिल्लाका विभिन्न स्थानका किसानहरू गम्भीर रूपमा प्रभावित भएका छन्। पाकेर भित्र्याउने तयारीमा रहेका गहुँ, जौ लगायतका मुख्य अन्नबालीमा ठूलो क्षति पुगेपछि किसानहरू मर्कामा परेका हुन्।
स्थानीयका अनुसार करिब आधा घण्टाभन्दा बढी समयसम्म लगातार परेको असिनाले खेतबारी सेताम्मे बनेको थियो। असिनाको प्रहारले गहुँ र जौका बालीनाली भुइँमै लडेका छन् भने तरकारी खेतीसमेत पूर्ण रूपमा नष्ट भएको छ। विशेषगरी सिम, आलु, बन्दा, काउली लगायतका तरकारीमा व्यापक क्षति पुगेको किसानहरूले बताएका छन्।
नरहरिनाथ, पलाँता, शुभकालिका र खाँडाचक्र नगरपालिका लगाएत क्षेत्रमा असिनाले सबैभन्दा बढी असर पारेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। किसानहरूका अनुसार यो वर्ष राम्रो उत्पादन हुने अपेक्षा गरिएको थियो, तर एकैछिनको प्राकृतिक विपत्तिले वर्षभरिको मेहनत खेर जाने अवस्था सिर्जना भएको छ।
स्थानीय रविलाल पाण्डे किसानका अनुसार दुखेसो पोख्दै भने, “भित्र्याउन ठिक्क परेको बाली नष्ट भयो, अब परिवार पाल्नै समस्या पर्ने भयो।” असिनापछि खेतबारीमा रहेका बाली झरेर कुहिने अवस्था आउन सक्ने भएकाले थप नोक्सानी हुने चिन्ता पनि बढेको छ।
कृषि प्राविधिकहरूका अनुसार असिनाले बालीनालीमा यान्त्रिक क्षति पुर्याउनुका साथै उत्पादनमा ५० प्रतिशतभन्दा बढी गिरावट ल्याउन सक्ने सम्भावना रहेको छ। यसले खाद्य सुरक्षामा समेत असर पार्ने देखिएको छ।
पीडित किसानहरूले तत्काल क्षतिको यथार्थ विवरण संकलन गरी राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। उनीहरूले स्थानीय तह, प्रदेश सरकार तथा संघीय सरकारसँग आपतकालीन सहयोग उपलब्ध गराउन आग्रह गरेका छन्।
यसैबीच, स्थानीय तहहरूले प्रारम्भिक रूपमा क्षतिको विवरण संकलन कार्य सुरु गर्ने तयारी गरेका छन्। सम्बन्धित वडाका जनप्रतिनिधिहरूले प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरी प्रतिवेदन तयार पार्ने बताएका छन्।
विज्ञहरूले पछिल्लो समय जलवायु परिवर्तनका कारण यस्ता अप्रत्याशित मौसमी घटना बढ्दै गएको उल्लेख गर्दै किसानहरूलाई कृषि बीमा, आधुनिक प्रविधि र पूर्वसूचना प्रणालीतर्फ ध्यान दिन सुझाव दिएका छन्।
असिनाबाट भएको क्षतिले कालिकोटका किसानहरूको जीवनयापनमा गम्भीर असर पर्ने देखिएको छ भने समयमै राहत तथा पुनःस्थापना नभए आगामी खेती प्रणालीमा समेत नकारात्मक प्रभाव पर्ने चिन्ता व्यक्त गरिएको छ।








