सुर्खेत । राष्ट्रिय मानवअधिकार आयोगको समन्वयमा ग्रामीणमुखी युवा अभियान (रोयम–नेपाल) र युवा मानवअधिकार रक्षक सञ्जालको आयोजना र एईआईएनको आर्थिक सहयोगमा “मानवअधिकार तथा सामाजिक न्याय अभियान” नारासहित युवा मानवअधिकार रक्षकहरूका लागि समग्र सुरक्षा सम्बन्धी क्षमता अभिवृद्धि तालिम कर्णाली प्रदेशको वीरेन्द्रनगरमा सुरु भएको छ।

पाँच दिने आवासीय तालिमको उद्घाटन कर्णाली प्रदेश सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री मा. विनोदकुमार शाह ले पानसमा दियो बालेर गर्नुभएको हो।

तालिममा कर्णाली प्रदेशका १० वटै जिल्लाबाट छनोट गरिएका २५ जना युवा मानवअधिकार रक्षकहरूको सहभागिता रहेको छ। सहभागीहरू मानवअधिकार प्रवर्द्धन र संरक्षणका क्रममा भोग्नुपर्ने डिजिटल, भौतिक, कानुनी तथा मनोसामाजिक जोखिम र तिनको व्यवस्थापनबारे व्यावहारिक ज्ञान र सीप हासिल गर्नेछन्।
मानवअधिकार उल्लंघन संकटका बेला बढ्छ – मन्त्री शाह

उद्घाटन समारोहमा बोल्दै मन्त्री शाहले महामारी, विपद् तथा संकटका समयमा मानवअधिकार उल्लंघनका घटनाहरू बढ्ने गरेको उल्लेख गर्नुभयो। “मेरो करिब ५० वर्षको राजनीतिक अनुभवले मानवअधिकारको विषय अझै संवेदनशील रहेको देखाउँछ,” उहाँले भन्नुभयो, “कर्णाली र सुदूरपश्चिममा छाउपडी प्रथा केही हदसम्म अन्त्य भए पनि पूर्ण रूपमा निर्मूल हुन सकेको छैन।” कर्णाली प्रदेश अन्य प्रदेशको तुलनामा विकासमा पछाडि परेको उल्लेख गर्दै उहाँले घरभित्र हुने महिला विभेद अन्त्यका लागि सबै सचेत हुनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा पूर्वमन्त्री तथा कर्णाली प्रदेशसभा सदस्य मा. उर्मिला विश्वकर्मा, कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता मा. कृष्णबहादुर हमाल, योजना आयोग सदस्य मा. अशोकनाथ योगी, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधिरराज शाही लगायत अतिथिहरूले मानवअधिकार रक्षकहरूको सुरक्षाबिना प्रभावकारी अधिकार संरक्षण सम्भव नहुने धारणा व्यक्त गर्नुभयो।


कार्यक्रमका अध्यक्ष तथा रोयम–नेपालका कार्यकारी निर्देशक लुभराज न्यौपाने ले तालिमको उद्देश्य स्पष्ट पार्दै युवा मानवअधिकार रक्षकहरूको सुरक्षा क्षमता अभिवृद्धि गरी अधिकार वकालतलाई सुरक्षित र दिगो बनाउने लक्ष्य रहेको बताउनुभयो।

तालिममा जोखिम मूल्याङ्कन, भौतिक सुरक्षा, डिजिटल सुरक्षा (सुरक्षित सञ्चार तथा डेटा सुरक्षा), मनोसामाजिक स्वास्थ्य र व्यक्तिगत सुरक्षा योजना निर्माणका विषयमा सहभागितामूलक विधिबाट प्रशिक्षण प्रदान गरिनेछ।

पुस १२ देखि १६ गतेसम्म सञ्चालन हुने तालिम तालिमपछि पूर्व–परीक्षण र उत्तर–परीक्षणमार्फत सिकाइको मूल्याङ्कन गरिने आयोजकले जनाएको छ।

कार्यक्रम सञ्चालन सन्तोष बी.के., कर्णाली प्रदेश संयोजक, रोयम–नेपाल ले गर्नुभएको हो।








