दैलेख । कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कल्याणी खड्काले दैलेख जिल्लामा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय र डिभिजन वन कार्यालयको अनुगमन गर्दै सेवा प्रवाहलाई नागरिकमैत्री, पारदर्शी र जवाफदेही बनाउन निर्देशन दिएकी छन्।

अनुगमनका क्रममा मन्त्री खड्काले कार्यालयको संगठनात्मक तथा संस्थागत अवस्था, सुधारका पक्ष, बजेट कार्यान्वयन तथा सेवा प्रवाहबारे जानकारी लिँदै कर्णाली प्रदेश सरकारका कानुन तथा कार्यविधि प्रभावकारी रूपमा कार्यान्वयन गर्न कर्मचारीलाई आग्रह गरिन्।
उनले साना तथा मझौला उद्योगलाई दिगो रूपमा सञ्चालन गरी रोजगारी सिर्जना गर्ने वातावरण बनाउनुपर्ने तथा वन क्षेत्रको संरक्षणसँगै पर्यटन विकास र प्रवर्द्धनलाई प्राथमिकतामा राख्नुपर्ने बताइन्।

मन्त्री खड्काले “नागरिकमैत्री सेवा प्रवाहमा विशेष ध्यान दिनुहोस्, सरकारले लिएका लक्ष्य पूरा गर्न निर्धारित समयमै बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्नुहोस्,” भन्दै कानुनी शासन, पारदर्शिता र जवाफदेहितालाई व्यवहारमै उतार्न निर्देशन दिइन्।
उनले कार्यालयबाट नागरिकलाई भइरहेको सेवा प्रवाहप्रति धन्यवाद व्यक्त गर्दै सेवाका क्रममा कर्मचारीले भोग्नुपरेका समस्या समाधानमा प्रदेश सरकार सदैव साथमा रहने बताइन्।







