जुम्ला । जुम्लामा सूचिकृत बेरोजगारको संख्या उल्लेखीय रुपमा बृद्धि भएको छ । सिप क्षामता र दक्षतानुसार काम नपाएर काम विहिन बनेका सूचिकृत बेरोजगारको संख्या जुम्लामा बढ्दै गएको हो । कामको खोजीमा रहेका तर कतैबाट कुनै काम नपाएर गाउँमै बसेका यूवा यूवतीलाई प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगारका रुपमा सूचिकृत गर्ने गरिएको छ । सूचिकृत बेरोजगारहरु मध्यबाट विपन्न,सिमान्तकृत यूवालाई प्रधानमन्त्री रोजगार कार्यक्रमका योजना निर्माणमा लगाउने र बाँकीलाई पालिकाका अन्य विकास निर्माणका काममा खटाउने उदेश्य राखिएको छ ।
तर हरेक वर्ष सूचिकृत बेरोजगारको संख्या बढ्दै गएपनि तीनै तहका सरकारले सयदिनको रोजगारी मिल्ने सम्मको योजना निर्माण नगर्दा यूवाहरु काम विहिन भएका छन् । विशेषगरी कर्णाली प्रदेश सरकार र यहाँका स्थानीयतहले जल,जमिन,जडिबुटि,कृषि र पर्यटनमा लगानी बढाएर,सूचिकृत बेरोजगारलाई त्यसमा समेट्ने नीति लिन सकेको छैन् ।
जसका कारण तथ्यांक संकलन गरेर औपचारिकता निभाउने र समाजको गरिबीलाई दस्तावेजीकरण मात्रै गर्ने काम भएको छ । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले वर्षमा १० हजार यूवालाई रोजगार दिने महोत्काँक्षी योजना ल्याएपनि अलपत्र परेको छ । सूचिकृत बरोजगार यूवाहरुले नत आफ्नो सिप र क्षामतानुसार काम पाउन सकेका छन् । नत सूचिकृत यूवाहरुलाई तीन तहको सरकारले विकास निर्माण परिचालन गर्न सकेको छ । वर्षेनी संकलन गरिने बेरोजगारहरुको तथ्यांक संकलनले रोजगारी बृद्धिमा टेवा पुराउन नसकेको प्रति यूवाहरुनै आक्रोसित छन् ।
आर्थिक समृद्धी र रोजगारी सृजनाको प्रचुर सम्भावना भएको जुम्लामा वर्षेनी सूचिकृत बरोजगारको संख्या बृद्धि हुनुले स्थानीय सरकारको लगानी अनुउत्पादनशील क्षेत्रमा बढी भएको र रोजगारी सृजनाको विषयमा ध्यान नदिएको देखिन्छ । गत आर्थिक वर्ष २०८०/८१ को बैशाख मसान्त सम्मा मात्रै १३ हजार ३३ जना सुचिकृत बेरोजगार रहेको जुम्लामा ९ महिनाकै अवधिमा करिब १५ सयले सूचिकृत बेरोजगार बढेका छन् । चालु आर्थिक वर्ष २०८१/८१ को पुस २३ गतेसम्मको तथ्यांकलाई हेर्दा जुम्लामा सुचिकृत बेरोजगारको संख्या १४ हजार ५ सय ४३ जना पुगेको छ । जुन गत आवको भन्दा एक हजार पाँच सय जना बढी हो ।
सूचिकृत बेरोजगारमा पुरुषको तुलनामा महिलाको संख्या बढी देखिएको छ । जुम्लाका कूल सुचिकृत बेरोजगार मध्य महिला ८ हजार ५ सय ८९ जना र पुरुष ५ हजार ९ सय ५४ जना रहेका छन् । हाल सम्म जुम्लाका २८ जना मात्रै प्रत्यक्ष रोजगारीमा संलग्न भएको तथ्यांकले देखाएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरर्गत जुम्लामा चालु आवमा कूल ५० वटा आयोजना निर्माण हुने छन् । ५० वटा आयोजनामा निश्चित यूवाले मात्रै काम पाउने र अधिकांश यूवा काम विहिननै हुनु पर्ने भएकोले स्थानीयतहरुले पालिकाका अन्य विकास निर्माणका काममा सुचितकृत बेरोजगारको प्रयोग गनेै नीति बनाउन जरुरी रहेको छ ।
जुम्लाको सूचिकृत बेरोजगारको सख्या बढेपनि समग्र कर्णाली प्रदेशको संख्यामा घटेको छ । गत आर्थिक वर्षमा कूल २ लाख १० हजार सुचिकृत बेरोजगार रहेको कर्णालीमा यसवर्ष २ हजारले घटेर दुई लाख ८ हजार यूवा सूचिकृत बेरोजगार रहेका छन् ।
स्थानीय सरकारले अधिकांश बजेट सडक निर्माण र अनुउत्पादक क्षेत्रमा लगानी गर्ने भएकोले पनि बेरोजगारीको समस्या बढ्दै गएको छ । हरेक वर्ष नीति कार्यक्रम र बजेट ल्याउँदा गाउँ गाउँमा सडक पुराउने कुरा प्रथामिकतामा परेपनि रोजगारी सृजना र उत्पादन बृद्धिको विषय सधै ओझेलमा परेको छ।
कुन पालिकामा कति बेरोजगार ?
कृषि पर्यटन, जल, जमिन, जडिबुटीको प्रचुर सम्भावना भएर पनि ठोस नीति र लगानी अभावमा बढ्दै गएको बेरोजगारी न्यूनीकरण गर्न प्रधानमन्त्री रोजगार कार्यक्रमले टेवा पु¥याउने आशा गरिए पनि अपेक्षित रोजगारी सृजना हुन सकेको छैन । सिपको पहिचान, क्षमताअनुसारको रोजगारी, श्रम संस्कृतिको विकास, स्वदेशमै रोजगारी प्रदान गर्ने र युवा पलायन रोक्ने उदेश्यसहित सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रमले सुचीकृत बेरोगारको संख्या बढाए पनि रोजगारी थोरैलाई मात्र दिएको छ ।
जस अन्तर्गत आठ पालिका रहेको जुम्लामा एकमात्र चन्दननाथ नगरपालिकामा ७३२ जना सूचिकृत बेरोजगार रहेका छन् । जसमा महिला ५३६,पुरुष १९६ जना छन् । तातोपानी गाउँपालिकामा महिला ११ सय ४३ र पुरुष ७९२ जना गरी कूल १९ सय ३५ जना सूचिकृत बेरोजगार रहेको तथ्यांकले देखाएको छ ।
त्यस्तै तिला गाउँपालिकामा कूल २७ सय ८४ जना सूचिकृत बेरोजगा रहेकोमा महिला १४ सय १९ र पुरुष १३ सय ६५ जना छन् । हिमा गाउँपालिकामा कूल २३ सय ६९ सुचिकृत बेरोजगार हुँदा महिला १३ सय १५ र पुरुष १ हजार ५४ जना,सिंजा गाउँपालिकामा कूल २८ सय ९७ जना सूचिकृत मध्य महिला १७ सय ६५ र पुरुष ११ सय ३२ जना सूचिकृत बेरोजगार रहेका छन् ।
साथै कनकासुन्दरी गाउँपालिकामा जम्मा २२ सय ७० जना सुचिकृत बेरोजगार रहेकोमा महिला १३ सय ३३ र पुरुष ९ सय ३७ जना,उता पातारासी गाउँपालिकामा कूल ६९४ जना सूचिकृत बेरोजगारमध्य महिला ४९२ र पुरुष २०२ जना रहेका छन् ।
भने गुठिचौर गाउँपालिकामा कूल ८६२ जना सूचिकृत बेरोजगार छन् । जसमध्य महिला ५८६ र पुरुष २७६ जना रहेको तथ्यांकमा उल्लेख छ । प्रायः पुरुषहरु कामको खोजीमा बाहिर जाने र महिलाकै भरमा गाउँघर रहने हुँदा सूचिकृत बेरोजगार पनि महिला बढी देखिएका हुन् । कर्णालि मिसनबाट साभार