अपडेट

‘संकटका बेला एमाले कहिल्यै पछि हट्दैन’ : एमाले कालिकोट इन्चार्ज नगेन्द्र शाही

  ।   २५ कार्तिक २०८२, मंगलवार १८:४७

कालीकोट । संसद् पुनर्स्थापनाको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) नरहरिनाथ गाउँकमिटीले सोमबार कालीकोटको नरहरिनाथ गाउँपालिकाको कुमाल गाउँमा प्रदर्शन गरेको छ।

पार्टी केन्द्रको निर्देशनअनुसार आयोजित उक्त प्रदर्शनमा सहभागीहरूले जननिर्वाचित संसद् विघटन असंवैधानिक भएको भन्दै तत्काल पुनर्स्थापनाको माग गरेका थिए। एमालेले देशभरका स्थानीय तहमा संसद् पुनर्स्थापनाको पक्षमा जनसभा र प्रदर्शन सञ्चालन गर्दै आएको छ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा कालीकोट जिल्ला इन्चार्ज नगेन्द्र शाही (नेशनल) प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। उनले वर्तमान राजनीतिक अस्थिरताका बीच एमाले सधैं राष्ट्र र जनताको पक्षमा दृढतापूर्वक उभिने बताएका थिए।

“देशमा संकटका बेला एमालेले कहिल्यै पछि हट्दैन। अहिले पनि जनताको अधिकार र लोकतान्त्रिक प्रणालीको रक्षा गर्न हामी अग्रपंक्तिमा छौं,” शाहीले भने। उनले प्रतिनिधि सभा विघटन जनमतको अपमान भएको उल्लेख गर्दै, आगामी निर्वाचनमा एमाले देशकै पहिलो पार्टी बन्ने दाबी समेत गरे।

शाहीले हालको ‘जेनजी आन्दोलन’ विदेशी शक्तिको खेलको परिणाम भएको दाबी गर्दै भने, “जेनजीको नाममा देशमा अस्थिरता ल्याउने प्रयास भइरहेको छ, तर एमाले कुनै पनि शक्ति वा दबाबसँग नडराई जनताको पक्षमा दृढ रहन्छ।”

कार्यक्रममा एमाले जिल्ला कमिटीका उपाध्यक्ष टेकबहादुर बोगटी, कर्णाली प्रदेश कमिटी सदस्य मानव बम, नरहरिनाथ गाउँपालिका पार्टी सचिव तथा वडा नं ९ का वडा अध्यक्ष प्रदीप बोहरा लगायतका नेताहरूले पनि सम्बोधन गरेका थिए। उनीहरूले संसद् पुनर्स्थापना नै राजनीतिक स्थायित्व र जनताको विश्वासको पुनःस्थापनाको आधार हुनेमा जोड दिएका थिए।

कार्यक्रममा ठूलो संख्यामा स्थानीयवासी र पार्टी कार्यकर्ताको उपस्थिति थियो। कार्यक्रममा नारा–जुलुस र जनसभामार्फत संसद् पुनर्स्थापनाको पक्षमा जोरदार माग गरिएको थियो।