नयाँ अनुभवहरूको खोजीमा, भविष्यको यात्रामा हिडेको छु

  ।   २४ चैत्र २०८१, सोमबार १०:४८

२०७९ साल जेठ ३१ गते, आफ्ना सपनाहरू साँचेर म जापानको यात्रामा निस्किएको थिएँ। अध्यायनको सिलसिलामा क्यूशु क्षेत्रको फुकुओका शहर मेरो बसोबासको थलो बन्यो। तीन वर्षपछि, २०८१ साल चैत २५गते बिहान ६:३६ बजे, म टोकियो हुँदै नागानो क्षेत्रतर्फ नयाँ यात्रामा लागेँ। मनमा उत्साह थियो, तर त्यसैगरी नछुट्टिने सम्झनाहरूको भारी पनि बोकेको थिएँ।

जापान आउँदाको क्षण अझै ताजा छन्—राजकुमार परियार, भीमबहादुर बुढा,र रणबहादुर शाहीसँगै एउटै हवाइजहाजमा चढेर हामी चारैजना नयाँ देश, नयाँ सपना र नयाँ चुनौतीहरू अँगाल्न निस्किएका थियौँ। प्रारम्भका दिनमा हामी चारैजना संगै थियौँ। जीवनले फरक मोड लिंदै जाँदा भाइ भीमबहादुर बुढा दुई वर्षपछि कोठा सरेर गए, तर हामी बाँकी तीनजना भने तीनै वर्ष एउटै कोठा, एउटै भान्सामा बाँधिएका थियौँ। परदेशी भूमिमा यति लामो समय एउटै परिवेशमा सहयात्रा गर्नु विरलै पाइने अनुभव हो।

आज परिस्थितिले मलाई नयाँ गन्तव्यतर्फ हिँड्न वाध्य बनाएको छ। प्रत्यक्ष भेटघाटको अवसर कम भए पनि, आत्मीयताको डोर कहिल्यै चुँडिने छैन भन्ने विश्वास मनमा छ। दूरीले शारीरिक रुपमा टाढा बनाउँछ, तर साँचो मित्रता सम्झनामा झन गहिरो बन्छ।

फुकुओकामा बिताएका ती तीन वर्षहरू केवल अध्ययनको समय मात्र थिएन, ती मेरा लागि आत्मीयता, संघर्ष, सहयोग र सहयात्राको समुच्चय थिए। यो अवधिमा मलाई माया र साथ दिने सम्पूर्ण साथीभाइ र अग्रजहरूप्रति म हृदयदेखि आभारी छु। विशेषतः सामाजिक र सांस्कृतिक क्षेत्रमा सक्रिय देवराज उप्रेति, अर्जुन वगाले, विकास श्रेष्ठ, विनोद सुनार, मोहन मडाइ, श्रीकृष्ण पाठक, सुरेन्द्र बुढा, हरिचन्द्र उपाध्याय लगायत आत्मीय साथीहरू—उद्धव गिरी, सन्तोष विक, प्रेम महतरा, ओम लामिछाने मगर, सञ्जीव वानिया, नगेन्द्र बाबु विसी, भीमबहादुर बुढा, योगेन्द्र शाही, आइताहाडं चेम्जोडं लिम्बु, अशोक विश्वकर्मा, वलाराम न्यौपाने, र रमेश मल्लहरूप्रति विशेष कृतज्ञता प्रकट गर्न चाहन्छु।
नयाँ गन्तव्यतर्फ लाग्दा केही अपुरो पनि लागिरहेको छ।

नागानोतर्फको यो यात्रा भए पनि समयको व्यस्तताले गर्दा केही आफन्तहरूसँग भेटघाट गर्न सकिएन। त्यस्तै, क्यूशुमा आयोजना हुँदै आएको “नेपाल फेस्टिवल” जस्तो हाम्रो संस्कृति, दुःख-सुखको आदानप्रदान गर्ने, प्रवासमा नेपाललाई चिनाउने महत्वपूर्ण अवसरमा पनि सहभागी हुन नपाएको खटकिएको छ। त्यो मेलामा नेपालीपन बाँच्थ्यो—र त्यसलाई नजिकै भएर पनि महसुस गर्न नपाउनु एक प्रकारको अभाव जस्तै बन्यो।

तर जीवन यही त हो—कहिलेकाहीँ अपूरा क्षणहरूलाई आत्मसात गर्दै अगाडि बढ्ने।
म पुराना मिठा सम्झनाहरू साथमा लिएर, नयाँ अनुभवहरूको खोजीमा, भविष्यको यात्रामा हिडेको छु। जहाँ पुगे पनि, यहाँ बिताएका पलहरू, सँगै बाँडेका खुसी-दुःख, अनि तपाईंहरूको आत्मीयता—यी नै मेरो साँचो थाती हुन् ।

Next Post

नेकपा ( एस ) पार्टी अध्यक्ष नेपाल कालिकोट पुग्दै

२४ चैत्र २०८१, सोमबार १०:४८
कालिकोट । नेकपा (एकीकृत समाजवादी)पार्टी का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल कालिकोटको रास्कोट पुग्ने भएका छन । नेकपा (एकीकृत समाजवादी) पार्टी कालिकोट जिल्लाको दसौं जिल्ला अधिवेशनमा चैत ३० गते रास्कोटमा उद्घाटन गर्न अध्यक्ष नेपाल पुग्ने भएका हुन । जिल्ला अध्यक्ष चित्रसिंह गाउँलेका अनुसार पार्टी अध्यक्ष नेपाल साथै उपाध्यक्ष प्रकाश ज्वाला, […]