कालीकोट / जिल्लाको सदरमुकाम मान्म बजारमा केही हप्तादेखि खानेपानीको समस्या बढ्दै गएको छ। यहाँका स्थानीयले केही हप्तायता खानेपानीको समस्या झेल्दै आएका छन्।
जिल्लाको मुटु मानिने खाँडाचक्र नगरपालिकामा खानेपानीको हाहाकार हुँदा सम्बन्धित निकाय मौन बसेको नागरिकको आरोप छ।
मान्ममा खानेपानीको समस्या दिनप्रतिदिन वृद्धि हुँदै जाँदा मान्ममा बसाेबास गर्ने नागरिकहरु खानेपानी जिम्मा लिएकाे खाडाचक्र नगरपालिका–१ को वडा कार्यालयमा ताला लगाउने भने खाँडाचक्र नगरपालिकामा रित्तो गाग्री प्रदर्शन गर्ने र जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाउने तयारि भैरहेकाे बताउँछन् ।
ताला लागाउने र ध्यानाकर्षण पत्र बुझाउने काम दुई बर्ष पहिले नै गरेकाे र पत्रपश्चात् प्रमुख जिल्ला अधिकारीले तत्काल सर्वपक्षीय बैठक बोलाएर खानेपानी समस्या समाधान समिति पनि गठन गरिएकाे थियाे ।
खानेपानी प्रयाप्त भए पनि सम्बन्धित निकायले खानेपानीको मुहान मर्मतदेखि पाइप लाइन विस्तारमा चासो नदेखाउँदा खानेपानीको समस्या भएकाे स्थानियकाे गुनासो रहेको छ।
खानेपानी मर्मत तथा सरसफाइका नाममा खाँडाचक्र नगरपालिकाले ४ जना र खानेपानीले नै ४ जना गरि ८ जना कर्मचारी समेत राखिएका छन् ।
शिबिरमा पानी बाेकेरै जाेहाे
जिल्लामा रहेको आँखा उपचार केन्द्रले केही दिनअघि मान्ममा शिविरको आयोजना गर्यो। शिविरमा उपचार गर्न आएका जिल्ला र जिल्ला आसपासका नागरिकले मान्ममा खानेपानीको समस्या झेल्नुपर्यो। आँखाका बिरामीलाई पिउने पानीको व्यवस्था गर्न सदरमुकाम मान्मभन्दा करिब २ किलोमिटर पर ओखढेनीबाट २ जना भरियामार्फत पानी ल्याएर पियाउनु पर्ने बाध्यता रह्याे ।
पानीको अभावमा शौचालयसमेत प्रयोग गर्न समस्या भयो। सदरमुकाम आसपासमा पानीको स्रोत नहुँदा एउटै मूलको भरमा सिङ्गो बजार नै रहेको स्थानीय व्यापारीको भनाइ छ।
यता, खाडाचक्र नगरपालिकाका नगर उपप्रमुख गणेश बहादुर शाहीले मान्मको खानेपानी समस्या समाधानका लागि नगरपालिका गम्भीर भएर लागेको र मान्मको खानेपानीको समस्या समाधान गर्नका लागि चुलीको पानी अर्थात चुलिमालिका बृहत खानेपानीकाे काम सकिनै लागेकाे हुँदा अषाढ सम्म सदरमुकाम बासिले दुख झेल्नुपर्ने र अषाढ पछि पानिका कारण दुख झेल्नुपर्ने नभएकाे जनाउनु भएकाे छ ।