कविता – छर्नु खुसीको बीउ

  ।   १५ असार २०८३, सोमबार २०:५०

छर्नु खुसीको बीउ
उठ्छ घामको सुस्केरा
सुकाउन दुखको बिस्कुन
फुलाउन उन्यौको बोट
पकाउन सुखो रोटी
बगाउन आँसुको थोपा
तर
पाउदैन पेटले सुखो रोटी
फुलेन उन्यौको बोट
बरु उल्टै बुरालियो बिस्कुन
बगे आँसुका थोपा
अब यसरी
नउठ सुस्केरा
तिमी उठेपछि
पाक्दैन सुखो रोटी
सुकेन भोकको बिस्कुन
बगिरहे आँसुका भेल
फुल्न पनि तयार छैन उन्यौ
त्यसैले पाक्छ भने भोको रोटी
फुल्छ भने रोदित उन्यौ
सुक्छ भने बुरालो बिस्कुन
बग्छ भने आँसुको किनार
अघाउछ भने बासी पेट
नउठ्दा पनि भयो
ए घामको सुस्केरा
तिमी नबिउँझिदा
अनेकौं खुसी उठ्छन भने
अबेर सम्म निदाउदा
हुन्छ कि
प्रिय सुस्केरा
यदी सबेरै उठेछौ भने
पठाउनु मनोहर मुस्कान
छर्नु खुसीको बीउ
उमार्नु पहेँलो रश्मी
उठ्ने छ अनिदो अगेनो।।

दीर्घ बहादुर शाही (डोक्काघरे)

सम्बन्धित शीर्षक