सुर्खेत । नेपाली कांग्रेस वीरेन्द्रनगर–३ को वडा अधिवेशनलाई लिएर देखिएको विवाद समाधान नभएको भन्दै बालकृष्ण हमाल चालिसेले समानान्तर वडा कार्यसमिति गठन गरिएको घोषणा गरेका छन्। आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा हमाल चालिसेले आफूहरूको माग तत्काल सम्बोधन नभए पार्टीभित्रको संघर्षलाई थप चर्काउँदै लैजाने चेतावनी दिएका हुन्।
भिडियो हेर्नुहोस :
पत्रकार भेटघाटमा उनले वडा नम्बर ३ को अधिवेशनसँग जोडिएका क्रियाशील सदस्यता, निर्वाचन प्रक्रिया र अधिवेशनको वैधानिकताबारे आफूहरूले निरन्तर प्रश्न उठाउँदै आए पनि अहिलेसम्म उचित सुनुवाइ नभएको बताए।
उनले वडा नम्बर ३ का करिब चार सयभन्दा बढी क्रियाशील सदस्यको विषयमा पार्टीले गम्भीर भएर निष्पक्ष छानबिन गर्नुपर्ने धारणा राखे। अनलाइनमार्फत क्रियाशील सदस्यता फाराम भरेका सबै सदस्यको विवरण छानबिन गरी वास्तविक नामावली सार्वजनिक गर्नुपर्ने उनको माग छ।
हमालले विवाद समाधान नगरी नगर तथा प्रदेश अधिवेशनको प्रक्रिया अघि बढाइए आफूहरूले त्यसको विरोध गर्ने बताए। आगामी दिनमा पनि आफूहरूको माग सुनुवाइ नभए आन्दोलनलाई थप चर्काउँदै नगर हुँदै प्रदेश अधिवेशनसमेत रोक्ने गरी संघर्षमा जाने चेतावनी उनले पत्रकार भेटघाटमार्फत दिएका छन्।
उनका अनुसार समानान्तर वडा कार्यसमिति गठन गर्नु रहर नभई वडा अधिवेशनसँग सम्बन्धित विवाद समाधानका लागि दबाब सिर्जना गर्ने कदम हो। उनले आफूहरूको आवाजलाई पार्टी नेतृत्वले गम्भीरतापूर्वक लिएर विधि, विधान र लोकतान्त्रिक प्रक्रियाअनुसार विवाद समाधान गर्नुपर्ने बताए।
हमालले समस्या समाधानका लागि आवश्यक परे विषयलाई जिल्ला, प्रदेश हुँदै केन्द्रीय नेतृत्वसम्म पुर्याउने पनि बताए। विवाद समाधान नगरी माथिल्लो तहका अधिवेशन अघि बढाइए त्यसको परिणामस्वरूप पार्टीभित्रै ठूलो संघर्ष उत्पन्न हुन सक्ने उनको चेतावनी छ।
यसअघि असन्तुष्ट पक्षले विवादित वडा अधिवेशनको निष्पक्ष छानबिन, क्रियाशील सदस्यको नामावली सार्वजनिक, सबै पक्षको सहभागितामा विवाद समाधान तथा विधि–विधानअनुसार वडा अधिवेशन पुनः सञ्चालन गर्न माग गर्दै आएको थियो।
उता, यही विवादको पृष्ठभूमिमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य गोपालप्रसाद जैसीले राजीनामा दिएको पत्र पनि सार्वजनिक भएको छ। पत्रमा उनले वडा नम्बर ३ को अधिवेशनसँग सम्बन्धित विवाद समाधानका लागि विभिन्न तहमा विषय उठाउँदा पनि अपेक्षित समाधान हुन नसकेको भन्दै नैतिक जिम्मेवारीका आधारमा पदबाट राजीनामा दिएको उल्लेख गरेका छन्।
वडा अधिवेशनको विवाद अहिले क्रियाशील सदस्यताको सूचीदेखि निर्वाचन प्रक्रिया र पार्टीको आगामी अधिवेशनसम्म पुगेको छ। विवाद समाधान नगरी माथिल्लो तहको अधिवेशन अघि बढाउने कि पहिले वडा तहकै विवाद टुंग्याउने भन्ने प्रश्न कांग्रेस सुर्खेतका लागि मुख्य चुनौती बनेको छ।







