सुर्खेत । साइबर अपराध न्यूनीकरण तथा सुरक्षित डिजिटल प्रयोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सुर्खेत महिला जेसिज वर्ष २०२६ को आयोजना तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कर्णाली प्रदेशको सहयोगमा एक दिने कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा अनलाइन ठगी, बालबालिकामा बढ्दो लागूपदार्थ दुव्र्यसन, इमेल तथा सामाजिक सञ्जालको दुरुपयोग जस्ता गम्भीर विषयमा विशेष छलफल गरिएको थियो। यस्ता गतिविधिहरूको निगरानी, नियन्त्रण तथा रोकथामका उपायबारे सहभागीलाई विस्तृत जानकारी गराइएको थियो।
कार्यक्रम जेसी मनु सुनारको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रदेश सरकार मुख्यमन्त्री परिषद् कार्यलयका प्रदेश प्रमुख सचिव लक्ष्मी कुमार वि क प्रमुख अतिथि रहेका हुन । प्रमुख अतिथि वि क ले प्रविधिको दुरुपयोग रोक्न सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै प्रदेश सरकारले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। “सुरक्षित समाज निर्माणका लागि प्रविधिको सही प्रयोग र सचेत नागरिक अपरिहार्य छन्,” भन्दै कार्यक्रम सफलताको सुभकामना दिए ।
विशिष्ट अतिथि जेसी कृति गुभाजु शाक्यले विशेषगरी महिलाहरूलाई लक्षित गर्दै साइबर सचेतनाको आवश्यकता औंल्याए। उनले महिलाबाटै घरपरिवार र समाजमा सकारात्मक सन्देश फैलिने भएकाले महिलाको भूमिका महत्वपूर्ण रहेको बताईन। “महिला सचेत भए घर, परिवार र समुदाय नै सुरक्षित र सचेत बन्छ,” उनको भनाइ थियो।
साइबर अपराध नियन्त्रणसम्बन्धी सहजीकरण विशेष अतिथि प्रहरी निरीक्षक राजन भट्टराईले गरे। उनले पछिल्लो समय साइबर अपराधका घटना बढ्दै गएको उल्लेख गर्दै विद्यालय तथा विभिन्न समुदायमा समेत यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको जानकारी दिए। “विद्यार्थी र अभिभावकलाई लक्षित गरी डिजिटल सुरक्षाबारे जानकारी दिँदै आएका छौं, र आजको कार्यक्रम विशेष रूपमा महिला जेसिजमार्फत महिलामा चेतना फैलाउने उद्देश्यले आयोजना गरिएको हो,” उनले बताए।
कार्यक्रममा सहभागीहरूले पनि महिलाहरूलाई साइबर अपराधबारे सचेत गराउन अझ बढी कार्यक्रम आवश्यक रहेको बताएका थिए। उनीहरूले महिला सशक्तिकरणसँगै डिजिटल साक्षरता जोड्न सके समाजमा ठगी, दुर्व्यसन तथा दुरुपयोगका घटनाहरू न्यूनिकरण गर्न सकिने धारणा राखेका थिए।
कार्यक्रममा लागूपदार्थ दुव्र्यसन र साइबर अपराधबीचको सम्बन्धबारे पनि चर्चा गरिएको थियो। दुवै समस्याले विशेषगरी युवा पुस्तालाई असर गरिरहेको र यसलाई न्यूनीकरण गर्न परिवार, विद्यालय र समुदायको संयुक्त प्रयास आवश्यक रहेकोमा जोड दिइएको थियो।
कार्यक्रमको सञ्चालन महासचिव जेसी भावना रानाले गरेकि हुन। कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधि, गर्दै महिलाहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमले साइबर अपराध नियन्त्रण, लागूपदार्थ दुव्र्यसन न्यूनीकरण तथा सुरक्षित डिजिटल समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।








