सुर्खेत । सुर्खेतको एक होटेलबाट हनी ट्रयापमा संलग्न रहिएकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। हनी ट्रयापमा पारी आर्थिक लाभ (एक्सटर्सन) लिएको अभियोगमा दैलेखको नौमुले गाउँपालिका–८ की २१ वर्षीया शिन्दु चन्दलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाका अनुसार विसं २०८१ साल भदौ महिनामा शिन्दु चन्दले पीडितसँग जिल्ला सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ स्थित बुलबुले भ्यु होटलमा बोलाई चिनजान तथा सहमतिमा सम्बन्ध कायम गरेकी थिइन्। त्यसपछि उक्त सम्बन्धलाई हतियार बनाउँदै उनले पीडितलाई जबरजस्ती करणीको मुद्दामा फसाउने, नग्न तस्बिर सामाजिक सञ्जाल र मिडियामा सार्वजनिक गरिदिने धम्की दिई डर, त्रास र दबाब सिर्जना गर्दै पीडितबाट पटक–पटक गरी जम्मा १४ लाख २५ हजार रुपैयाँ असुलेको उजुरी प्राप्त भएपछि उनलाई पक्राउ गरेको बुढथापाले जानकारी दिए।
चन्द हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ मा बसोबास गर्दै आएकी छिन्। पीडितबाट आएको जाहेरीको आधारमा अनुसन्धान सुरु गरेको प्रहरीले उनलाई पक्राउ गरी आर्थिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा थप अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ।