काठमाडौं । केपी शर्मा ओलीलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको छ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित निवासबाट बिहान करिब ५ बजे पुगेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख सूर्यबहादुर खड्काका अनुसार पक्राउपछि ओलीलाई काठमाडौँ लगिएको छ।
यसैक्रममा, ओली नेतृत्वको तत्कालीन सरकारका गृहमन्त्री रमेश लेखकलाई पनि प्रहरीले आजै बिहान भक्तपुरको कुटुन्जेस्थित निवासबाट पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार भदौ २३ गते भएको ‘जेनजी आन्दोलन’ का क्रममा भएको हिंसात्मक घटनामा १९ जनाको मृत्यु भएको विषयमा अनुसन्धानका लागि दुवै नेतामाथि कारबाही अघि बढाइएको हो। उक्त घटनाबारे अध्ययन गर्न गठित आयोगले उनीहरूमाथि फौजदारी मुद्दा चलाउन सरकारलाई सिफारिस गरेको थियो।
गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको आयोगले चैत २४ गते सरकारलाई बुझाएको प्रतिवेदनका आधारमा मन्त्रिपरिषद्ले अनुसन्धान प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।
उक्त आन्दोलनका क्रममा काठमाडौँको बानेश्वर क्षेत्रमा किशोरहरूमाथि गोली प्रहार भएको घटनामा तत्कालीन सरकारका उच्च तहका जिम्मेवार व्यक्तिहरूलाई दोषी ठहर गर्दै आयोगले अनुसन्धान आवश्यक ठहर गरेको जनाएको छ।







