दैलेख । कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कल्याणी खड्काले उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखको सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन निर्देशन दिएकी छन्।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखको संगठनात्मक तथा संस्थागत अवस्था, सेवा प्रवाह र कार्यसम्पादनबारे अनुगमन गर्दै मन्त्री खड्काले कार्यालयका कर्मचारीसँग अन्तरक्रिया गरेकी हुन्। अनुगमनपछि आयोजित स्वागत तथा अन्तरक्रिया कार्यक्रममा उनले कार्यालयबाट प्रवाह हुने सेवामा नागरिकको सहज पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिइन्।

मन्त्री खड्काले “नागरिकमैत्री सेवा प्रवाहमा विशेष ध्यान दिनुपर्छ” भन्दै सेवाग्राहीले अनावश्यक दुःख पाउने अवस्था आउन नदिन कर्मचारीलाई आग्रह गरिन्। प्रदेश सरकारका नीति, कानुन तथा कार्यविधिको प्रभावकारी कार्यान्वयन गर्दै सेवा प्रवाहमा पारदर्शिता र जवाफदेहिता कायम गर्नुपर्ने उनको भनाइ थियो।
उनले सरकारले लिएका लक्ष्य तथा कार्यक्रम कार्यान्वयनका लागि निर्धारित समयमै बजेटको प्रभावकारी उपयोग गर्न समेत निर्देशन दिइन्। बजेट खर्च मात्र नभई त्यसबाट नागरिकले प्रत्यक्ष लाभ पाउने गरी कार्यक्रम कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिइन्।
मन्त्री खड्काले कानुनी शासन स्थापित गर्न आ–आफ्नो तहबाट जिम्मेवार भएर काम गर्न कर्मचारीलाई निर्देशन दिँदै सरकारी कार्यालयको कार्यसम्पादन नागरिकको विश्वाससँग जोडिएको बताइन्।
दैलेखमा रहेका साना तथा मझौला उद्योगलाई दिगो रूपमा सञ्चालन गर्ने वातावरण निर्माण, उद्यमशीलता प्रवर्द्धन तथा रोजगारी सिर्जनाका लागि कार्यालयले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने उनले बताइन्। उद्योग तथा व्यवसाय प्रवर्द्धनसँगै नियमित अनुगमन र उपभोक्ता हित संरक्षणलाई पनि प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो।
मन्त्री खड्काले कार्यालयले नागरिकलाई प्रदान गर्दै आएको सेवा तथा जिम्मेवारीप्रति कर्मचारीलाई धन्यवाद दिँदै सेवा प्रवाहका क्रममा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार आवश्यक सहजीकरण र सहयोग गर्न तयार रहेको बताइन्।
कार्यक्रममा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखका कर्मचारीहरूले कार्यालयको अवस्था, सेवा प्रवाहमा देखिएका समस्या तथा आगामी कार्ययोजनाबारे मन्त्री खड्कासमक्ष जानकारी गराएका थिए।
मन्त्री खड्काले प्रदेश सरकारका कानुन, नीति तथा कार्यविधिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै पारदर्शी, जवाफदेही र परिणाममुखी ढंगले काम गर्न कार्यालयलाई निर्देशन दिएकी छन्।






