काठमाडौँ । नयाँ सत्ता समीकरणका लागि चार दलबिच ८ बुँदे सहमति भएको छ ।चार दल नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाबिच ८ बुँदे सहमति भएको हो ।
राष्ट्रिय आवश्यकता र जनचाहनाअनुसार सरकारको कामलाई अझ प्रभावकारी बनाउन तथा मुलुकको सुशासन, विकास, सामाजिक न्याय र समृद्धिका पक्षमा समान सोच राख्ने दलहरूका बिचमा सहकार्य आवश्यक रहेको महसुस गरी चार दलको संयुक्त सरकार गठन गर्ने निष्कर्षमा पुगिएको सहमतिपत्रमा उल्लेख छ । यस्तै रिक्त रहेको राष्ट्रियसभाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवारलाई समर्थन गर्ने सहमतिपत्रमा उल्लेख छ।
यसैगरी सरकारमा सहभागी भएका दलहरूका बिचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने र त्यसरी बाँडफाँट गर्दा मन्त्रालयको विशेषताका आधारमा वर्गीकरण गरी मिलाउने सहमति भएको छ ।सहमतिपत्रमा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव र रास्वपाका सभापति रवि लामिछानेले हस्ताक्षर गरेका छन् ।