रतन रावल ,
मुगु । कर्णाली प्रदेशका १० जिल्लामध्ये मुगु जिल्लाले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, कर्णाली प्रदेश कार्यसमितिको तेस्रो प्रदेश अधिवेशनमा ‘सर्वोत्कृष्ट जिल्ला प्रथम’ पुरस्कार हात पारेको छ। तीन वर्षे कार्यकालका गतिविधिको उच्च मूल्यांकन गर्दै प्रदेश कार्यसमितिले मुगु प्रतिष्ठानलाई यो सम्मान प्रदान गरेको हो।
जिल्ला कार्यसमिति मुगुले यस अवधिमा चम्पा, हुर्के, हरिनो, दोहोरी साँझ, देउडा, साथै मेयर डान्स आइडल जस्ता थुप्रै सांस्कृतिक कार्यक्रम निरन्तरता दिँदै कर्णालीको मौलिक कला–संस्कृतिको संरक्षण तथा प्रमोशनमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ।
यस्तै प्रतिष्ठानको दुई वर्षे कार्यकाल सफलतापूर्वक नेतृत्व गर्दै सांस्कृतिक अभियानलाई गतिशील बनाएको भन्दै पूर्व अध्यक्ष श्रीमती राधिका मल्ल, साथै पछिल्ला वर्षमा दिनरात खटिएर संस्थालाई नयाँ उचाइमा पुर्याउने वर्तमान अध्यक्ष श्री सम्भव सुनारको भूमिकालाई अधिवेशनले विशेष रुपमा प्रशंसा गरेको छ। अध्यक्ष सुनारको सक्रियता, नेतृत्व क्षमता तथा सांस्कृतिक क्षेत्रप्रतिको समर्पणले नै मुगुलाई प्रदेशभरि उत्कृष्ट बन्न मद्दत पुगेको बताइएको छ।
मुगु जिल्लाका कला–संस्कृति प्रवद्र्धनमा आर्थिक तथा संस्थागत सहयोग पुर्याउने विभिन्न व्यक्तित्वलाई समेत प्रतिष्ठान मुगुले हार्दिक धन्यवाद व्यक्त गरेको छ। विशेषगरी छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णु कुमार भाम, मुगुम कार्मारोङ गाउँपालिका, साथै कर्णाली प्रदेशका माननीय जित ब। मल्ल लगायतका सहयोगी हातहरूलाई प्रतिष्ठानले औपचारिक रूपमा आभार व्यक्त गरेको अध्यक्ष सुनारले बताए।
अध्यक्ष सम्भव सुनारका अनुसार कर्णालीका परम्परागत कला, संस्कृति र रीतिरिवाज जोगाउने काम अहिलेको मुख्य आवश्यकता हो। उहाँले कलाकार, संस्कृतिप्रेमी र सम्पूर्ण समुदाय एकजुट भई स्थानीय सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा निरन्तर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। “कला, संस्कृति र पहिचान नै हाम्रो सबैभन्दा ठूलो धन हो। यसलाई जोगाएर विश्वभर कर्णालीको पहिचान फैलाउने हाम्रो साझा संकल्प हो,” अध्यक्ष सुनारले भने।
प्रदेश अधिवेशनमा प्राप्त उत्कृष्ट जिल्ला सम्मान मुगु जिल्लाको सांस्कृतिक उत्साह, सामूहिक प्रयास र निरन्तर साधनाको परिणाम भएको प्रतिष्ठान मुगुले जनाएको छ।







