किशोर–किशोरीका लागि रूपान्तरण कक्षा सहजीकरण गर्ने ८ जना सम्मानित

  ।   १३ पुष २०८२, आईतवार १७:१७
छत्र रोका मगर

कालिकोट। युरोपियन युनियन तथा संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोष( UNFPA) को सहयोग, शुभकालिका गाउँपालिकाको साझेदारी तथा समन्वयमा सोसेक नेपालद्वारा सञ्चालित ‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रमअन्तर्गत किशोर–किशोरीका लागि सञ्चालन गरिएको ३० दिने रूपान्तरण कक्षा सहजीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

उक्त कार्यक्रममा सक्रिय भूमिका निर्वाह गर्ने शुभकालिका गाउँपालिका वडा नं. १, २, ३ र ४ का ८ जना सहजकर्तालाई गाउँपालिकाले विशेष सम्मान गरेको छ। गाउँपालिकाका अध्यक्ष गोविन्द प्रसाद आचार्य र उपाध्यक्ष धर्मकला शाहीले प्रमाणपत्र प्रदान गर्दै खादा ओढाएर सहजकर्ताहरूलाई सम्मान गर्नुभएको हो।

सम्मानित हुने सहजकर्ताहरूमा हेमन्त अधिकारी, जान्की सुनार, सपना योगी, निरिका बम, पुष्कर शाही, बिमला चौलागाईं, भुपेन्द्र अधिकारी र सुमन राम्जाली मगर रहेका छन्।

सम्मान कार्यक्रममा सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गोविन्द प्रसाद आचार्यले किशोर–किशोरी लक्षित रूपान्तरण कक्षाले समाजमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “किशोर–किशोरी आजका मात्र होइनन्, भोलिका कर्णधार हुन्। उनीहरूमा सही ज्ञान, आत्मविश्वास र नेतृत्व विकास गर्न सके समाज आफैँ रूपान्तरण हुन्छ। यस कार्यक्रमले स्थानीय तहमा सकारात्मक सोच र व्यवहार विकासको बलियो आधार तयार गरेको छ।”

अध्यक्ष आचार्यले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाउँदै शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता तथा सामाजिक सचेतनाका क्षेत्रमा सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजाने बताउनुभयो।

त्यसैगरी उपाध्यक्ष धर्मकला शाहीले किशोर–किशोरीहरूको व्यक्तित्व विकास, लैङ्गिक समानता र अधिकारका विषयमा रूपान्तरण कक्षा अत्यन्त प्रभावकारी भएको बताउनुभयो। उहाँले भन्नुभयो, “किशोर अवस्थामा प्राप्त शिक्षा र व्यवहारले जीवनभर प्रभाव पार्दछ। रूपान्तरण कक्षाले किशोर–किशोरीलाई आफ्नो अधिकार, कर्तव्य र जिम्मेवारीबारे सचेत बनाएको छ। यसले समाजमा हिंसा, भेदभाव र नकारात्मक सोच न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।”

उपाध्यक्ष शाहीले महिलाहरू तथा किशोरीहरूलाई सशक्त बनाउने कार्यक्रमलाई स्थानीय तहले उच्च प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो।

कार्यक्रममा शुभकालिका गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष मनबहादुर शाही, वडा नं. ५ का वडा अध्यक्ष मिमबहादुर शाही, वडा नं. ४ का वडा अध्यक्ष प्रदिप प्रसाद चौलागाईंलगायत विभिन्न सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमले किशोर–किशोरीहरूको नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि र सामाजिक रूपान्तरणमा सकारात्मक योगदान पुर्‍याएको सहभागीहरूले बताएका छन्।

Next Post

मुगुका दुर्गम विद्यालयमा शैक्षिक सामग्री वितरण, ७५ विद्यार्थी लाभान्वित

१३ पुष २०८२, आईतवार १७:१७
मुगु । जिल्लाको छायाँनाथ रारा नगरपालिका–८ अन्तर्गत पर्ने झ्यारी गाउँमा अवस्थित श्री महादेव आधारभूत विद्यालयका ७५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। अक्कल कोपिला फाउन्डेसनको आर्थिक सहयोगमा विद्यार्थीहरूलाई कापी, कलमलगायत आवश्यक शैक्षिक सामग्री प्रदान गरिएको हो। दुर्गम भेगका विद्यालयहरूमा अध्ययनरत बालबालिकाले भोग्दै आएको अभावलाई मध्यनजर गर्दै फाउन्डेसनले यो सहयोग […]

सम्बन्धित शीर्षक