नेपाल पत्रकार महासंघ कालिकोटको १६औँ साधारण सभा सम्पन्न

  ।   ३१ जेष्ठ २०८३, आईतवार २०:४६

कालिकोट । नेपाल पत्रकार महासंघ कालिकोट शाखाको १६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाले पत्रकारहरूको हकहित संरक्षण, प्रेस स्वतन्त्रताको रक्षा तथा व्यावसायिक पत्रकारिताको विकासका लागि एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

शाखा अध्यक्ष भरतराज बिष्टको अध्यक्षता तथा महासंघका केन्द्रीय सदस्य तुलाराम पाण्डेको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख, सञ्चारकर्मी, पत्रकार तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पाण्डेले लोकतन्त्रको सुदृढीकरण, सुशासन प्रवर्द्धन र नागरिक अधिकार संरक्षणमा पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताए। उनले सत्य, निष्पक्ष र जिम्मेवार पत्रकारितामार्फत समाजका वास्तविक मुद्दाहरू उजागर गर्न पत्रकारहरूलाई आग्रह गरे।

सभाध्यक्ष भरतराज बिष्टले महासंघले विगत एक वर्षमा पत्रकारहरूको क्षमता विकास, पेशागत सुरक्षा र प्रेस स्वतन्त्रताको संरक्षणका क्षेत्रमा विभिन्न पहल गरेको जानकारी दिए। उनले पत्रकारिता क्षेत्र अनेक चुनौतीबीच अघि बढिरहेको उल्लेख गर्दै पत्रकारहरूको एकता, व्यावसायिक दक्षता र जिम्मेवार अभ्यासलाई अझ मजबुत बनाउन आवश्यक रहेको बताए। स्थानीय सञ्चार माध्यमको सुदृढीकरण र पत्रकारहरूको हकहित संरक्षण महासंघको प्राथमिकतामा रहेको उनको भनाइ थियो।

साधारण सभामा आर्थिक तथा संगठनात्मक प्रतिवेदनमाथि छलफल हुनुका साथै आगामी वर्षका कार्यक्रम र बजेट पारित गरिएको थियो।

सहभागीहरूले पत्रकारिताको गुणस्तर अभिवृद्धि, स्थानीय सञ्चार माध्यमहरूको सशक्तीकरण तथा पत्रकारहरूको पेशागत सुरक्षाका विषयमा सुझाव दिएका थिए।

सभाले स्वर्गीय पत्रकार विरेन्द्र आचार्यको स्मृतिमा ‘विरेन्द्र स्मृति अक्षय कोष’ स्थापना गर्ने, सदस्यता सुदृढीकरण गर्ने लगायतका महत्वपूर्ण निर्णयहरू समेत गरेको छ।