कर्णालीमा दलित विकास समिति गठनका लागि ऐन संशोधन गर्ने मुख्यमन्त्री शाहीको प्रतिबद्धता

  ।   २६ श्रावण २०८३, मंगलवार २०:४६

सुर्खेत । नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं नेपाल दलित मोर्चाका केन्द्रीय विदेश विभाग प्रमुख बसन्त कुमार विश्वकर्माको नेतृत्वमा गएको नेपाल दलित मोर्चाको टोलीले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर शाहीलाई भेटेर बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ ।

भेटका क्रममा मोर्चाले कर्णाली प्रदेशमा दलित विकास समिति गठन गर्ने व्यवस्था सहितको दलित ऐन संशोधन गर्न माग गर्दै मुख्यमन्त्री शाहीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

मोर्चाका अनुसार मधेस, बागमती, कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा दलित विकास समिति गठनका लागि कानुनी व्यवस्था गरिएको छ । ती प्रदेशमा दलितसम्बन्धी ऐन निर्माण गरी कार्यान्वयनमा समेत ल्याइएको भन्दै कर्णालीमा पनि सोहीअनुसारको कानुनी व्यवस्था गर्न माग गरिएको हो ।

ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा दलितसम्बन्धी ऐन संशोधन गरी दलित विकास समिति गठनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको मोर्चाले जनाएको छ ।

मुख्यमन्त्री शाहीले प्रदेश खेलकुद विकास ऐन, कर्णाली प्रदेश प्रज्ञा प्रतिष्ठान ऐन र आमसञ्चार ऐनको मोडेललाई आधार बनाएर दलित ऐन संशोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको बताइएको छ ।

मोर्चाले कर्णालीमा दलित समुदायको सामाजिक, आर्थिक, शैक्षिक तथा सांस्कृतिक विकासका लागि संस्थागत संरचना आवश्यक रहेको भन्दै दलित विकास समिति गठनलाई प्राथमिकताका साथ अघि बढाउन प्रदेश सरकारसँग आग्रह गरेको छ ।

कर्णाली प्रदेशमा दलित समुदायको अधिकार, अवसर र सहभागिता सुनिश्चित गर्न छुट्टै विकास समिति गठन तथा प्रभावकारी कानुनी व्यवस्था आवश्यक रहेको मोर्चाको भनाइ छ ।

Next Post

जलवायु संकटसँग जुध्न युवाको नेतृत्व आवश्यक - लुभराज न्यौपाने

२६ श्रावण २०८३, मंगलवार २०:४६
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा जलवायु न्याय, युवा सहभागिता र स्थानीय अनुकूलनमा जोड सुर्खेत । जलवायु परिवर्तनको बढ्दो प्रभावबाट नेपालका हिमाली तथा दुर्गम क्षेत्र, विशेषगरी कर्णाली प्रदेशका युवा, किशोरकिशोरी तथा बालबालिका सबैभन्दा बढी प्रभावित भइरहेकाले जलवायु संकट समाधानमा युवाको अर्थपूर्ण सहभागिता र नेतृत्व आवश्यक रहेकोमा सरोकारवालाले जोड दिएका छन्। अन्तर्राष्ट्रिय युवा […]