कालिकोट । कालिकोटका विभिन्न दुर्गम गाउँबस्तीमा नेपाल टेलिकमको मोबाइल तथा इन्टरनेट सेवा नियमित र प्रभावकारी नभएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० कालिकोटले नेपाल टेलिकमसँग जिल्लाको सञ्चार सेवाको अवस्थाबारे विस्तृत विवरण माग गरेको छ।
मोबाइल नेटवर्क नपुग्ने तथा नेटवर्क पुगेका क्षेत्रमा समेत बारम्बार कल ड्रप, कमजोर इन्टरनेट र सेवा अवरुद्ध हुने समस्या देखिएको भन्दै नागरिकबाट निरन्तर गुनासो आउन थालेपछि रास्वपा कालिकोटले नेपाल टेलिकम जिल्ला कार्यालयमा औपचारिक पत्र बुझाएको हो।
रास्वपा कालिकोटका जिल्ला सचिव भुपेन्द्रजंग शाहीद्वारा हस्ताक्षरित पत्रमा जिल्लाका नौवटै स्थानीय तहमा सञ्चालनमा रहेका, आंशिक रूपमा सञ्चालनमा रहेका तथा बन्द अवस्थामा रहेका टावरहरूको अवस्थासहित नेटवर्क कमजोर भएका क्षेत्रको प्राविधिक विवरण उपलब्ध गराउन माग गरिएको छ।
त्यसैगरी, कालिकोटका कुन–कुन गाउँ, वडा तथा बस्तीमा हालसम्म नेपाल टेलिकमको मोबाइल तथा इन्टरनेट सेवा पुग्न नसकेको हो भन्ने विवरणसमेत माग गरिएको छ। पत्रमा सञ्चार सेवा कमजोर हुनुका प्राविधिक तथा भौगोलिक कारण, समस्या समाधानका लागि आवश्यक थप पूर्वाधार र त्यसका लागि लाग्ने अनुमानित लागतबारे समेत जानकारी माग गरिएको छ।
रास्वपाले नेपाल टेलिकमबाट आगामी दिनमा जिल्लाको सञ्चार सेवा सुधार तथा विस्तारका लागि स्वीकृत वा प्रस्तावित नयाँ टावर निर्माण, नेटवर्क विस्तार र स्तरोन्नतिका योजनाको विवरणसमेत उपलब्ध गराउन आग्रह गरेको छ।
माग गरिएका विवरणहरू स्थानीय तह, वडा, गाउँ–बस्ती तथा टावरको नाम खुल्ने गरी सकेसम्म तालिकाबद्ध रूपमा उपलब्ध गराउन पत्रमार्फत अनुरोध गरिएको छ। दुर्गम भौगोलिक अवस्थाका कारण भरपर्दो सञ्चार सेवा नहुँदा नागरिकले दैनिक कामकाज, सूचना आदानप्रदान तथा अत्यावश्यक अवस्थामा समेत समस्या भोग्दै आएको रास्वपाको भनाइ छ।
रास्वपा कालिकोटका जिल्ला कार्यसमिति सदस्य जीवनराज देवकोटाका अनुसार, जिल्लाका विभिन्न स्थानबाट मोबाइल तथा इन्टरनेट सेवा प्रभावकारी नभएको विषयमा नागरिकका गुनासा आइरहेकाले वास्तविक अवस्था पहिचान गर्न र सम्बन्धित निकायलाई जवाफदेही बनाउन टेलिकमसँग तथ्यगत विवरण माग गरिएको हो। उनका अनुसार प्राप्त विवरणका आधारमा कुन क्षेत्रमा कस्तो समस्या छ भन्ने पहिचान गरी आवश्यक सुधारका लागि पहल गरिनेछ।
पत्र बुझाउने क्रममा रास्वपा कालिकोटका जिल्ला सचिव भुपेन्द्रजंग शाही, जिल्ला कार्यसमिति सदस्य जीवनराज देवकोटा र धनिराम धमलासहित पलाता गाउँपालिकाका पार्टी प्रतिनिधि तथा अन्य नेता–कार्यकर्ताको सहभागिता रहेको थियो।







