रारा बहुमुखी क्याम्पस, मुगुमा स्नातकोत्तर (डिग्री) कार्यक्रम सुरु हुँदै

  ।   २२ मंसिर २०८२, सोमबार १९:५५

 रतन रावल,

मुगु । जिल्लाको प्रमुख उच्च शिक्षण केन्द्र रारा बहुमुखी क्याम्पसले यसै शैक्षिक सत्रदेखि शिक्षा संकायअन्तर्गत स्नातकोत्तर (डिग्री) तहको कक्षा सञ्चालन गर्ने तयारी गरेको छ। आवश्यक पूर्वाधार, जनशक्ति तथा प्रशासनिक प्रक्रिया पूरा गर्दै हाललाई शैक्षिक योजना तथा व्यवस्थापन( EPM) विषयबाट कक्षा सुरु गरिने क्याम्पस प्रमुख लालकेशर रोकायाले जानकारी दिए।

रोकायाका अनुसार, दूरदराजका विद्यार्थीलाई आफ्नै जिल्लामा नै गुणस्तरीय उच्च शिक्षा उपलब्ध गराउने उद्देश्यले स्नातकोत्तर तह सुरु गर्न लागिएको हो। यसअघि उच्च शिक्षा अध्ययनका लागि बाहिरी जिल्लामा जानुपर्ने बाध्यता कम हुने र आर्थिक–सामाजिक बोझ पनि घट्ने अपेक्षा गरिएको छ।

क्याम्पस प्रमुख रोकायाका भनाइअनुसार, मध्यपश्चिम विश्वविद्यालयका केही प्रक्रिया पूरा हुन बाँकी रहेकाले पुस महिनाको पहिलो सातादेखि आवेदन फारम वितरण सुरु गरिने छ। आगामी माघ ८ गते विश्वविद्यालयले प्रकाशित गरेको परीक्षा तालिकाअनुसार प्रवेश परीक्षामा विद्यार्थीहरूलाई सहभागी गराउने तयारी भइरहेको बताइएको छ।

जिल्लाका विभिन्न विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी, साथै उच्च शिक्षामा रुचि राख्ने स्थानीय विद्यार्थीले आफ्नै ठाउँमै सहज रूपमा अध्ययन गर्न पाउनेछन्। कर्णाली प्रदेशका अन्य जिल्लाबाट समेत विद्यार्थी भर्ना हुने क्याम्पसको अपेक्षा छ।

स्थानीय अभिभावक, विद्यार्थी तथा सरोकारवालाहरूले रारा बहुमुखी क्याम्पसमा स्नातकोत्तर कार्यक्रम सुरु हुनु जिल्लाका लागि महत्वपूर्ण शैक्षिक उपलब्धि भएको प्रतिक्रिया दिएका छन्। यस कदमले मुगुमा गुणस्तरीय उच्च शिक्षा विस्तार र शैक्षिक विकासको नयाँ दिशा खुल्ने विश्वास राखिएको छ।

Next Post

मुगुमा ९५ % जनतासमक्ष अझै उज्यालो नपुग्दा युवाहरूको आक्रोश, ऊर्जा मन्त्री घिसिङलाई ‘झरो’ उपहार

२२ मंसिर २०८२, सोमबार १९:५५
रतन रावल, काठमाडौँ । कर्णाली प्रदेशको दुर्गम जिल्ला मुगुमा अझ पनि ९५ प्रतिशतभन्दा बढी नागरिक स्थायी विद्युत् सुविधाबाट वञ्चित रहेको तथ्य सार्वजनिक गर्दै स्थानीय युवाहरुले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङलाई प्रतीकात्मक रूपमा ‘झरो’ उपहार दिएका छन्। आशिष देवकोटाको नेतृत्वमा गएको युवा समूहले मन्त्रीलाई बुझाएको ध्यानाकर्षण पत्रमा मुगुको अँध्यारोले […]