दशौँ राष्ट्रिय खेलकुदका लागि कर्णालीको तयारी तीव्र, खेलाडी छनोटदेखि प्रशिक्षणसम्म विशेष प्राथमिकता

  ।   १० आश्विन २०८३, शनिबार ०९:५१

सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै कर्णाली प्रदेशले खेलकुद क्षेत्रको तयारीलाई तीव्रता दिएको छ। प्रतियोगितामा कर्णालीको प्रभावकारी सहभागिता र उत्कृष्ट प्रदर्शन सुनिश्चित गर्ने उद्देश्यले खेलाडी छनोट, प्रशिक्षण, व्यवस्थापन तथा समन्वयका विषयमा छलफल अघि बढाइएको हो।

कर्णाली प्रदेशको खेलकुद तयारीका सम्बन्धमा २०८३ असोज ९ गते माननीय सामाजिक विकास मन्त्री एवं कर्णाली प्रदेश खेलकुद विकास परिषद्का अध्यक्ष जीत बहादुर मल्लको प्रमुख आतिथ्यतामा विभिन्न खेल संघ–महासंघका प्रमुख तथा प्रतिनिधिहरूको सहभागितामा समन्वय बैठक सम्पन्न भएको छ।

बैठकमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन आवश्यक तयारीका विषयमा विस्तृत छलफल गरिएको थियो। विशेषगरी खेलाडी छनोट तथा प्रतिभा पहिचान, नियमित प्रशिक्षण, प्रशिक्षक व्यवस्थापन, खेल सामग्री, खेलाडीको आवास तथा यातायात, स्वास्थ्य र प्रतियोगिता व्यवस्थापन लगायतका विषयलाई प्राथमिकताका साथ अघि बढाउने विषयमा समन्वय गरिएको जनाइएको छ।

कर्णाली प्रदेशले राष्ट्रिय खेलकुदलाई केवल सहभागिताको अवसरका रूपमा नभई प्रदेशका खेलाडीको क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण मञ्चका रूपमा लिएको छ। त्यसका लागि सम्बन्धित खेल संघ, महासंघ, प्रशिक्षक, खेलाडी तथा प्रदेश खेलकुद विकास परिषद्बीच प्रभावकारी समन्वय गर्दै तयारीलाई व्यवस्थित बनाउनेमा बैठकले जोड दिएको छ।

खेलाडी छनोटमा प्रतिभा र क्षमताका आधारमा पारदर्शी प्रक्रिया अपनाउने, छनोट भएका खेलाडीलाई आवश्यक प्रशिक्षणको व्यवस्था गर्ने तथा प्रतियोगितासम्म उनीहरूको तयारीलाई निरन्तरता दिने विषयमा समेत छलफल भएको छ।

बैठकले ‘खेलकुद पहिलो प्राथमिकता’ भन्ने भावनासहित आवश्यक स्रोत, साधन र व्यवस्थापनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएको छ। दशौँ राष्ट्रिय खेलकुदमा कर्णालीको प्रतिनिधित्वलाई थप सशक्त बनाउँदै प्रदेशका खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि तयार पार्ने लक्ष्यसहित आगामी तयारी अघि बढाइने बताइएको छ।

Next Post

माग सम्बोधन नभएसम्म क्षेत्रीय अधिवेशन अघि नबढाउन आग्रह

१० आश्विन २०८३, शनिबार ०९:५१
सुर्खेत । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वीरेन्द्रनगर नगरपालिका–३ को अधिवेशनसम्बन्धी विवाद चर्किँदै गएको छ। वडा अधिवेशन खारेजीको मागसहित आन्दोलनरत समूहले आफ्नो माग सम्बोधन नभएसम्म सुर्खेत क्षेत्र नं. १ को क्षेत्रीय अधिवेशन प्रक्रिया अघि नबढाउन आग्रह गरेको छ। आन्दोलन संघर्ष समिति तथा समानान्तर नेपाली कांग्रेस वीरेन्द्रनगर–३ ले क्षेत्रीय प्रतिनिधिलाई पत्र पठाउँदै […]

सम्बन्धित शीर्षक