सुर्खेत । चौकुने गाउँपालिकाका एक एम्बुलेन्स चालक सर्पदंशपछि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचाररत छन्। सर्पले डसेपछि गम्भीर अवस्थामा अस्पताल पुर्याइएका चालकलाई चिकित्सकको निगरानीमा सघन उपचार कक्ष आईसीयू मा राखेर उपचार भइरहेको छ।
प्रदेश अस्पतालको इमर्जेन्सी विभागका प्रमुख डा का अनुसार चालकलाई सर्पदंशपछि आवश्यक उपचारसँगै सर्पको विषविरुद्ध प्रयोग गरिने एन्टिस्नेक भेनम एएसभी दिइएको छ। उनका अनुसार हाल चालकको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ।
ग्रामीण क्षेत्रमा खेतबारी, झाडी, गोठ तथा घर वरपर सर्पको जोखिम बढी हुने भएकाले विशेष सावधानी अपनाउन स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन्। विशेषगरी वर्षायाम र गर्मीको समयमा सर्प बाहिर निस्कने सम्भावना बढी हुने भएकाले राति हिँड्दा टर्चको प्रयोग गर्ने, झाडी तथा घाँसमा हात हाल्दा सचेत रहने र घर वरपरको वातावरण सफा राख्न चिकित्सकहरूको सुझाव छ।
सर्पदंशको घटना भएमा घरेलु उपचार वा ढिला नगरी तत्काल नजिकको स्वास्थ्य संस्थामा पुर्याउनसमेत स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन्। हाल प्रदेश अस्पतालमा उपचाररत चालकको स्वास्थ्य अवस्था खतरामुक्त रहेकाले चिकित्सकको नियमित निगरानीमा उपचार जारी रहेको अस्पतालले जनाएको छ।






