कालिकोटमा मन्त्री सुनिल लम्सालको स्थलगत अनुगमन, कर्णाली राजमार्ग र करिडोरको अवस्थाबारे अध्ययन

  ।   २ श्रावण २०८३, शनिबार १४:५७

कर्णालीमा पूर्वाधार विकासको स्थलगत अनुगमन मन्त्री लम्सालद्वारा राजमार्ग, करिडोर र विकास आयोजनाको निरीक्षण

सुर्खेतदेखि हुम्लासम्मका सडक तथा विकास आयोजनाको अवस्थाबारे स्थलगत अध्ययन, स्थानीय आवश्यकता र जनअपेक्षालाई प्राथमिकतामा राखेर अघि बढ्ने सरकारको प्रतिबद्धता

कालिकोट । नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय सुनिल लम्साल नेतृत्वको टोलीले कर्णाली प्रदेशका विभिन्न जिल्लामा पूर्वाधार विकासको वर्तमान अवस्था, चुनौती तथा सम्भावनाको स्थलगत अनुगमन सुरु गरेको छ। सोही क्रममा टोली अहिले कालिकोट पुगेको छ।

स्थलगत अनुगमनका क्रममा सुर्खेत, दैलेख, कालिकोट, मुगु, जुम्ला र हुम्ला जिल्लाका विकास आयोजनासहित कर्णाली राजमार्ग र कर्णाली करिडोरको अवस्थाको प्रत्यक्ष अवलोकन गरिएको छ। अनुगमनका क्रममा स्थानीयवासी, जनप्रतिनिधि तथा सम्बन्धित निकायसँग छलफल गर्दै विकास निर्माणका कामको प्रगति, देखिएका समस्या र स्थानीय आवश्यकताबारे जानकारी लिइएको छ।

भ्रमणमा प्युठानबाट निर्वाचित प्रतिनिधिसभा सदस्य माननीय सुशान्त वैद्य तथा माननीय रमेश सापकोटा सहितको टोलीको पनि सहभागिता रहेको छ। टोलीले कर्णालीका रणनीतिक सडक सञ्जाल, पुल तथा अन्य भौतिक पूर्वाधार आयोजनाको प्रभावकारी कार्यान्वयन, निर्माणको गुणस्तर र तीव्रताका विषयमा सम्बन्धित निकायसँग आवश्यक छलफल गरेको जनाएको छ।

अनुगमनका क्रममा मन्त्री लम्सालले कर्णालीको विकासका लागि पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखिएको उल्लेख गर्दै स्थानीय नागरिकको आवश्यकता, जनअपेक्षा र भौगोलिक यथार्थलाई आधार बनाएर योजनाहरूलाई प्रभावकारी रूपमा अघि बढाइने बताएका छन्।

स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालाले कर्णाली राजमार्ग र कर्णाली करिडोरलाई वर्षभरि सुरक्षित, सहज र नियमित सञ्चालनयोग्य बनाउन आवश्यक बजेट, गुणस्तरीय निर्माण र समयमै मर्मतसम्भारको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।

कर्णाली प्रदेशको समग्र विकासको आधारका रूपमा रहेको सडक पूर्वाधारलाई थप सुरक्षित, दिगो र गुणस्तरीय बनाउने उद्देश्यले गरिएको यस स्थलगत अनुगमनबाट विकास आयोजनाको प्रभावकारी कार्यान्वयनमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।